एमाले स्थायी कमिटीमा ८ जना थपिए, एकता कायम रहने दाबी

२०७८ असार १७ बिहीबार, काठमाडौं । एमाले स्थायी कमिटीमा ८ जनालाई थप गरिएको छ । बुधबार (आज) बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले पूर्वमाओवादी पृष्ठभूमिका ४ जनासहित एमालेका ४ गरी ८ नेतालाई कमिटीमा थप गरेको हो । बैठकले नेता रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, वेदुराम भुसाल, रघुजी पन्त, विष्णु रिमाल र रघुवीर महासेठलाई कमिटीमा थप गरिएको हो ।

बादल, भट्ट, रायमाझी र थापा पूर्वमाओवादीका तर्फबाट नेकपामा स्थायी कमिटी सदस्य थिए । भुसाल, पन्त, महासेठ र रिमाल भने माओवादीसँग एकता हुँदा स्थायी कमिटी सदस्य मनोनित भएका थिए । तीन महिनाअगाडि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीलाई दशौं महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेका थिए । तर, आजको बैठकले पुनः दशौं महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमै रुपान्तरण गरेको छ ।

एमाले एकता कायम रहन्छ
संस्थापन एमालेको आजको निर्णयपछि एमाले एकता कायम रहने नेताहरुले दाबी गरेका छन् । प्रवक्तासमेत रहेका स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले भने— ‘एकतालाई ध्यान राखेर पनि यसो गरिएको हो । एकता त कायम रहनु परिहाल्यो नि ।’

विपक्षी एमालेका नेताद्वय वेदुराम भुसाल र रघुजी पन्तसमेत आज थप गरिएका स्थायी कमिटी सदस्यमा छन् । ‘उहाँहरुलाईसमेत स्थायी कमिटीमा थप गरिएको छ,’ अर्का स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले भने— ‘अब उहाँ (विपक्षी एमाले) हरुले यसलाई कसरी लिनुहुन्छ । मलाई लाग्छ, वरिष्ठ नेता उता हुनुहुन्छ । उहाँहरुले कुरा बुझ्नुहुन्छ र एकतालाई कायम राख्नुहुनेछ ।

ओली–नेपालबीच सम्वादको तयारी
आजको निर्णयपछि अब अध्यक्ष ओली र नेता माधवकुमार नेपालबीचको सम्वादको तयारी गरिएको छ । बालुवाटार सूत्रले भन्यो— ‘भोलि वा पर्सिभित्र उहाँहरुबीच सम्वाद भइसक्छ । त्यसले एमालेलाई एकताबद्ध गरेर लाने कुरामा थप सहमति गर्छ ।’

नेता नेम्वाङ्गकाअनुसार नेताद्वय ओली–नेपालबीच स्वाभाविक ढङ्गले भेटघाट हुनेछ । नेम्वाङ्गले भने— ‘अब दुईजना एमालेका नेताहरु भेट्ने कुरालाई स्वाभाविक रुपमा लिनुपर्छ । थप सहमितका साथ अगाडि बढ्नको लागि सम्वाद तथा छलफल हुन जरुरी छ ।’

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार