‘अदालतले प्रधानमन्त्री नियुक्त गर्ने आदेश दिन सक्दैन’

२०७८ असार १७ बिहीबार, काठमाडौं । पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्ति गर्ने आदेश दिन नसक्ने दाबी गर्नुभएको छ । प्रतिनिधिसभा विघटन मुद्दामा आज संवैधानिक इजलासमा बहस गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

बहसका क्रममा पूर्वन्यायाधिवक्ता खरेलले राष्ट्रपतिले गरिसकेको निर्णयमा परमादेश जारी गर्न नमिल्ने तर्क गर्नुभयो । ‘टेक्निकल्ली राष्ट्रपतिको निर्णयमा परमादेश जारी हुन सक्दैन । राष्ट्रपतिले गर्ने काम अदालतले गर्न सक्दैन’ उहाँले भन्नुभयो । खरेलले अदालतले प्रधानमन्त्री नियुक्त गर्ने परमादेश दिए राष्ट्रपतिले कार्यान्वयन नगरेमा समस्या हुने पनि बताउनुभयो ।

‘अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन । यदि दुर्भाग्यवश परमादेश जारी भयो र राष्ट्रपतिले कार्यान्वयन गर्नुभएन भने ?’ उहाँले प्रश्न गर्नुभयो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘अदालतले परमादेश जारी ग¥यो र राष्ट्रपतिले मान्दिन भन्नुभो भने के हुन्छ भन्न खोज्नुभएको हो ?’ भनी प्रश्न गर्नुभयो । तर खरेलले यो प्रश्नको जवाफ दिनुभएन ।

यसअघि, प्रधानन्यायाधीश जबराले राष्ट्रपतिकहाँ प्रधानमन्त्रीको दाबी परेपछि राजनीतिक दलहरूले दिएका पत्रलाई लिएर वरिष्ठ अधिवक्ता तथा एमाले नेतासमेत रहेका खरेललाई प्रश्न गर्नुभएको थियो ।

‘संविधानको धारा ७६ को उपधारा ५ को सरकारका लागि दाबी परेपछि राष्ट्रपतिले कुन सदस्यले भोलि भोट हाल्छ वा हाल्दैन भनेर कागज गर्नुपर्ने थियो कि थिएन् ?, संसद् विघटनको मुद्दाको सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा आज बहसमा आएका खरेललाई प्रधानन्यायाधीशले सोध्नुभयो, ‘जुन उजुरी अहिले एमाले र जसपाले राष्ट्रपतिकहाँ हालेका छन्, त्यो उजुरी दिन पाउने भन्ने कुराको व्यवस्था कुन संघीय कानुनमा छ ?’

प्रधानमन्त्रीका लागि सांसदहरूको हस्ताक्षरसहित दाबी परेपछि र त्यसको विरुद्धमा राजनीतिक दलहरूले उजुरी दिएपछि राष्ट्रपतिले हस्ताक्षर गर्ने सांसदहरूलाई सनाखत गराउनुपर्थ्यो कि पर्दैनथ्यो भनेर पनि प्रधानन्यायाधीशले खरेललाई सोध्नुभएको थियो ।

प्रधानमन्त्रीमा दाबी गर्नका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले अरु दलका सांसदको हस्ताक्षर चोरेर लगेको जस्ता आरोप लगाएपछि प्रधानन्यायाधीशले उक्त प्रश्न गरेका थिए । खरेलले कांग्रेस र माओवादी केन्द्रको समर्थन लिएर गएका देउवाले अरु दलका सांसदलाई चोरेर लगेको आरोप लगाएका थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार