देशभर लगातार वर्षा, यी क्षेत्रमा बढी जोखिम

२०७७ असार १९ शनिबार, काठमाडौं । शुक्रबार मध्यरातिदेखि देशभर लगातार वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार राति १२ बजेदेखि वर्षा भइरहेको हो ।

दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

 

सतर्क रहन आग्रह
देशको अधिकांश स्थानमा वर्षा जारी रहेसँगै नदीहरुमा जलसतह बढेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले रौतहट कर्मैया (पधेरादोभान)स्थित बागमती नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जनाएको छ ।

 

तनहुँको बिमलनगरस्थित मर्स्याङदी नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ । त्यस्तै बारास्थित सिमरा विमानस्थल र आसपासका क्षेत्रहरूमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएकोले सो क्षेत्रका ससाना खोलाहरूमा आकस्मिक बहावको जोखिम रहेको जनाइएको छ ।

 

लमजुङको खुदीबजार, बेसीसहर र आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको छ । दोर्दी, न्यादी, चेपे लगायतका खोलाहरूमा आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार