२०७७ असार १६ मङ्गलबार काठमाडौं । साम्राज्ञी राज्यलक्ष्मी शाहले केहीदिनअघि इन्स्टाग्राम लाइभमार्फत् आफूले फिल्म गर्दा भोग्नु परेको दूर्व्यवहार बारे बोलिन्। त्यहाँ उनले कसैको पनि परिचय सार्वजनिक नगरी आफ्नो भोगाइ राखेकी थिइन्।
तर, उक्त भिडियोलाई लिएर अभिनेता एवं निर्माता भुवन केसीले फेसबुक पोस्ट लेखे। जसमा उनले ‘सामाजिक सञ्जालमा रोइ कराइ गर्ने हिरोइन’ भनेर सम्बोधन गरेका छन्। प्रश्न गरेका छन् ‘अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन्? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने।’
उनले पनि कसैको नाम उल्लेख नगरी अभिनय क्षमता माथि समेत प्रश्न गरे।
लगत्तै साम्राज्ञीले दोस्रो भिडियो सार्वजनिक गरिन्। त्यसमा उनले भुवनको स्टाटसको प्रसङ्ग जोड्दै भनेकी छिन्,’
फिल्म क्षेत्रका अग्रजहरुले ‘तिमी केटी मान्छे हौ। यस्तो विषयमा बोल्नु हुँदैन’ भनेकै कारण आफू सहेर बसेको बताएकी छिन्। उनले त्यस विषयमा बोल्नको लागि उमेरले पनि सानै भएको र लगनशिल भएर काम गरेको बताएकी छिन्।
उनले भुवन केसीले आफूलाई जापानमा भएको एक अवार्ड समारोहमा आफूलाई ‘तँ त मेरो प्रोडक्ट होस्। यस्तो कुरा छाड्दे। पूरानो कुरा कोट्याएर के काम?’ भन्ने प्रश्न गरेको जनाएकी छिन्।
लकडाउनका कारण आफूले यस विषयमा धेरै सोचेको र त्यसपछि मात्र बोलेको बताउँदै उनले सामाजिक सञ्जालका कारण आफ्नो आवाज सुनिने विश्वासका साथ बोलेको बताइन्। भनेकी छिन्,’मैले यस विषयमा बोल्न सकें। राम्रो महसुस भएको छ। मैले जे जति भने त्यो सबै साँचो हो। तर यही विषयका कारण मलाई प्यानिक अट्याक आइरहेको छ।’
श्रृङ्खलावद्ध भिडियोमा उनले फिल्म छायांकन ताका भोग्नु परेको अन्य दूर्व्यवहार बारे पनि खुलाएकी छिन्। फिल्म क्षेत्रमा सबै नराम्रो नभए पनि केहीले शक्तिको आडमा गरेको दूर्व्यवहारहरु बारे उनले बोल्न आवश्यक रहेको बताइन्।
सामाजिक सञ्जालमा साम्राज्ञीको भिडियो सन्देश र भुवन केसीको स्टाटसमाथि विविध टिका टिप्पणी भए। आम दर्शक र सामाजिक सञ्जाल प्रयोगकर्ताले यस विषयमा आफ्नो धारणा राखेका छन्। केहीले साम्राज्ञीको साहसमा आफ्नो साथ रहेको बताएका छन् भने केहीले उनको ट्रोल गरेका छन्। आम मानिस बाहेक फिल्म क्षेत्रसँग प्रत्यक्ष रुपमा जोडिएकाहरुले पनि मुख खोलेका छन्।
निर्माता अर्जुन कुमारले साम्राज्ञीको पक्षमा फेसबुक पोस्ट लेखे। ‘कलाकार कसैको बधुवा मजदूर होइन। फिल्म खेलाएकै भरमा कुनै पनि कलाकारमाथि कुनै पनि प्रकारको दूर्व्यवहार बर्दास् गर्न सकिन्न।’
उनले कलाकारलाई आफूले अवसर दिएकै कारण हिट भएको बताउनुलाई ‘मुर्खता’ भएको बताएका छन्।
महिला कलाकारमाथि हुने कुनै पनि किसिमको दूर्व्यवहारविरुद्ध आफू उभिने समेत बताएका छन्।
अभिनेत्री नम्रता सापकोटाले सोही पोस्टमा ‘सत्य कुरा लुक्दैन’ भन्दै साम्राज्ञीको समर्थन जनाएकी छिन्। वर्षा सिवाकोटीले पनि अब आफूहरु गलतकोविरुद्ध बोल्नु पर्ने बताएकी छिन्।
उता भुवन केसीको पोस्टलाई भने कसैले मजाको विषय बनाएका छन्। कसैले उनको भनाइम सहमती जनाएका छन्। अभिनेत्री विपना थापाले आफू भुवनको कुरामा सहमत रहेको बताएकी छिन्। त्यस्तै चलचित्र पत्रकार शान्ति प्रियले प्रश्न गरेका छन् : दाइको पनि कडै गयो त?
नेपाल चलचित्र पत्रकार संघका महासचिव समिर बलामीले भुवनको स्टाटसले ‘अहिलेसम्मकै कडा भनाइ’का रुपमा व्याख्या गरेका छन्।
साम्राज्ञीकी आमा नेहा शाहले पनि यस विषयमा आफ्नो धारणा राखिन्। उनले आफ्नी छोरीले व्यक्ति विशेषभन्दा पनि आफूले जे भोग्न पर्यो त्यस किसिमको प्रवृत्तीविरुद्ध बोलेको जनाएकी छिन्। ‘उसले सुरुवाती दिनमा आफूले गर्नु परेकाे संघर्ष र भोग्नु परेको अनुभव बारे बोलेकी हुन्। कुनै व्यक्ति विशेषलाई असर पार्न खोजेको होइन भन्ने मैले बुझेकी छु’, लेखेकी छिन्।
साम्राज्ञीले पनि आफू मानसिक हिंसामा परेको बारे प्रष्ट पारेकी छिन्। लेखेकी छिन्,’मेरी आमा म यस विषयमा बोलुँ भन्ने चाहनु हुन्थेन। उहाँलाई अझै पनि लाग्छ म यसरी बोल्नु एउटा छोरी मान्छे र परिवारका लागि गलत निर्णय हो। तर म सत्यको पक्षमा बोल्दैछु।’
उनले दुई वर्ष अघि नै आफू यस विषयमा बोल्न खोज्दा आफ्नी आमालाई ‘तेरो छोरीले ठूलो गल्ती गर्दैछ’ भन्ने किसिमका सन्देशहरु आएको समेत जनाएकी छिन्।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो