विश्वकपमा श्रीमतीलाई दराजमा लुकाएर राख्थे यी पाकिस्तानी क्रिकेटर

२०७७ असार १८ बिहीबार, एजेन्सी । पाकिस्तानी क्रिकेट टिमका पूर्व सदस्य सकलेन मुस्ताखले विश्वकपको क्रममा श्रीमतीलाई होटलको कोठामा दराजमा लुकाएर राखेको खुलासा गरेका छन्। सन १९९९ को लन्डन विश्वकपका क्रममा परिवारलाई सँगै राख्न नपाउने नियमका कारण आफूले यस्तो निर्णय गरेको उनले बताएका छन्।

पाकिस्तान क्रिकेट बोर्डले त्यतिबेला प्रतियोगिताको बीचमै खेलाडीका परिवारलाई फिर्ता पठाउन भनेको थियो ।

उनले श्रीमतीसँगै दैनिक समय बिताइरहेकोमा अचानक नियम परिवर्तन गरेपछि आफूले त्यस्तो कदम उठाएको बताएका छन्। सन् १९९९ को विश्वकपको क्रममा टिमका लागि यस्तो नियम आए पनि आफूलाई श्रीमतीको साथ छोड्न मन नलागेको उनले एक भिडियो कुराकानीमा बताएका हुन्।

‘खासमा मेरो विवाह सन् १९९८ को डिसेम्बरमा भएको थियो। मेरो पत्नी त्यतिबेला लन्डनमै थिइन्। उनीसँग समय बिताउनु मेरो दैनिक रुटिन नै थियो,’ उनले भनेका छन, ‘व्यवसायिक खेलाडीको रुपमा कडा मेहेनत गर्नु र दिनमा टिममेटसँग समय बिताएर बेलुकी पत्नीसँग समय बिताउथेँ।’

तर अचानक प्रतियोगिताका क्रममा परिवारसँग समय बिताउन नपाउने नियम लगाइएपछि उनलाई आपत आइलाग्यो। खेलाडीहरुलाई क्रिकेटमा केन्द्रीत गराउन यस्तो नियम ल्याइएको थियो। त्यतिबेला केही क्रिकेटहरुले यो नियमप्रति आपत्ति जनाएका थिए भने केहीले समर्थन पनि गरेका थिए।

‘अचानक परिवारलाई फिर्ता पठाउनु पर्ने भनेर निर्देशन आयो। म प्रशिक्षक रिचर्ड पायबससँग गएर सबै कुरा ठीक चलिरहँदा यस्तो परिवर्तन किन गरियो भनेर प्रश्न पनि गरेको थिएँ,’ उनले भनेका छन्, ‘म एक यस्तो मान्छे हुँ जसलाई जे जस्तो छ त्यस्तै भइरहोस भन्ने लाग्छ। म बिना काम नयाँनयाँ कुराहरुमा प्रयोग गर्नेमा विश्वास राख्दिनँ। म त ति कुराहरु गर्छु जो म गर्दै आएको छु।’

विश्वकपका क्रममा होटलमा उनको कोठामा चेकिङ हुँदा श्रीमतीलाई दराजमा लुकाउने गरेको पनि उनले बताएका छन्।

‘विश्वकपका क्रममा धेरै पटक मेनेजर, प्रशिक्षकहरुले मेरो कोठामा चेकिङका लागि आएका थिए। त्यतिबेला मैले उनलाई दराजमा लुक्न भनेको थिएँ। उनीहरु आउँथे। हेर्थे। र जान्थे,’ उनले भनेका छन् । त्यतिबेला उनका टिममेटहरु अजर मोहम्मद र मोहम्मद युसुफसँग आफूले नयाँ नियमबारे छलफल गरेको बताएका छन्। त्यस्तै उनीहरुले श्रीमती लुकाएको शंका गरेपछि आफूले श्रीमतीलाई बाहिर बोलाएको पनि उल्लेख गरेका छन्।

मुस्ताकले पाकिस्तानका लागि ४९ टेस्ट र १६९ ओडिआई खेल्दै क्रमश २०८ र २८८ विकेट लिएका थिए।

सन् १९९९ को विश्वकपमा पाकिस्तान फाइनलमा पुगेको थियो। फाइनलमा पाकिस्तानले खराब ब्याटिङ गरेसँगै अस्ट्रेलियाले खेल ८ विकेटले जितेको थियो। प्रतियोगिता सकिएसँगै उनले उनकी श्रीमतीलाई लन्डनस्थित आफ्नो अपार्टमेन्टमा जान भनेका थिए।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार