चीनको हङकङ नीति विरुद्ध बोल्यो बेलायत

२०७७ असार १८ बिहीबार, एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले हङकङका ३० लाख नागरिकलाई बेलायती नागरिकताको लागि आवेदन दिने अधिकार प्रदान गर्ने बताएका छन् । चीनले हङकङको सुरक्षामाथि प्रश्न उठाउँदै राष्ट्रिय सुरक्षा कानुन लागू गरेपछि बेलायती प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको हो।

उक्त कानुनबाट हङकङका नागरिकको अधिकार हनन भएको भन्दै बोरिसले त्यसबाट प्रभावित हुनेहरुलाई बेलायतमा बसोबास गर्न अधिकार दिइने बताएका हुन्।

सन् १९९७ मा बेलायतले आफ्नो उपनिवेशमा रहेको हङकङलाई चीनलाई हस्तानतरण गरेको थियो। हस्तानतरण गरेपछि ५० वर्षसम्मका लागि त्यहाँका बासिन्दाहरुको अधिकार सुनिश्चित गरिएको थियो। तर जोनसनले भने चीनले सहमति तोड्दै हङकङबासीहरुको अधिकार सुनिश्चित गरिएको सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्।

बीबीसीका अनुसार करिब ३ लाख ५० हजार बेलायती पासपोर्ट भएका र अन्य २६ लाख मानिस पाँच वर्षका लागि बेलायत आउन सक्नेछन्। पाँच वर्ष बसेपछि उनीहरुले नागरिकताकोलागि आवेदन दिन सक्नेछन्। त्यसको एक वर्षपछि उनीहरु नागरिकता पाउन योग्य हुनेछन्।

हङकङका ब्रिटिश पासपोर्ट भएकाहरुलाई सन् १९८० को दशकमा विशेष हैसियत र सुविधा प्रदान गरिएको थियो। तर पछिल्लो दिनमा उनीहरुले उक्त सुविधा प्रयोग गर्न पाइरहेका थिएनन्। नयाँ कानुन लागू भएपछि प्रभावित हुनेहरुलाई बेलायतमा बस्न, काम गर्न र पढ्ने अधिकार दिइनेछ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार