विश्व महाशक्ति बन्ने हाेडमा चीन

२०७७ असार १९ शुक्रबार, एजेन्सी । चीनमा कसैले समयमै कर तिरे उसको अंक जोडिन्छ। कसैले रातो बत्तीमा नियम मिचेर हिँडे उसको अंक घट्छ। चीनमा यसलाई ‘सोसियल स्कोर’ अर्थात् सामाजिक अंक भनिन्छ। यस्तो अंक व्यवस्थित गर्ने आधा जिम्मा मेसिनले नै लिएको हुन्छ।

यी मेसिन आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का रोचक उदाहरणहरू हुन्। कुनै पनि व्यक्तिको व्यवहार राम्रो वा नराम्रो भन्ने मेसिनले नै निर्णय गर्न थालेका छन्। त्यसैले भविष्यमा चीन एआईको महाशक्ति राष्ट्र बन्न सक्ने देखिन्छ। हाल विश्वमा अमेरिका र चीनबीच महाशक्ति बन्ने होडबाजी चलेको छ। तर महाशक्ति बन्ने विशेष बाटो चीनले पहिल्याएको छ। त्यो हो प्रविधि। आर्टिफिसियल इन्टेलिजेन्स मात्र होइन, आवाज र अनुहार पहिचान गर्ने प्रविधि, बिग डाटा र रोबोटिक्सको क्षेत्रमा चीन विश्वको उत्कृष्ट स्थानमा गनिन्छ।

चीनले आफ्नो स्वदेशी विमान पनि बनाइसकेको छ। त्यसैगरी चार सय किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने पहिलो बुलेट ट्रेन निर्माण भइसकेको छ। यसको मोडल निर्यातको लागि तयार छ। चीनमा एप्पल, जीएम, भोक्सवागेन र टोयोटाजस्ता कम्पनीले आफ्नो फ्याक्ट्री र रिसर्च सेन्टर चलाइरहेका छन्।

‘मेड इन चाइना २०२५’ का कारण यो सबै सम्भव भइरहेको बताइन्छ। सन् २०१५ मा चीन सरकारले १० वर्षको एउटा लक्ष्य राखेको थियो। त्यसको उद्देश्य चीनलाई उद्योग र प्रविधिमा विश्वमा सबैभन्दा शक्तिशाली बनाउनु थियो।

सस्तो जुत्ता, कपडा र खेलौना व्यापार गर्ने देशको रूपमा आफूले बनाएको छविमा चीन परिवर्तन ल्याउन चाहन्छ। राष्ट्रपति सी चिनपिङले पनि आफूले चीनलाई साइबर शक्ति बनाउन चाहेको स्पष्ट पारिसकेका छन्। यो योजनाका लागि चीनले धेरै पैसा लगानी गरिरहेको छ। विदेशी कम्पनीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रविधि साटासाट गर्ने दबाब पनि सिर्जना गरिरहेको छ।

चीनको बजारमा छिर्न कुनै पनि विदेशी कम्पनीलाई त्यहाँको स्थानीय कम्पनीसँग साझेदारी गर्नु आवश्यक हुन्छ। योबाहेक चीनले आफ्नो रणनीतिअनुसार कतिपय कम्पनीलाई आफै किन्ने गरेको छ। जस्तै मर्सिडिज बेन्ज गाडी बनाउने जर्मन कम्पनी डेमलरको चिनियाँ कम्पनी गिली सबैभन्दा बढी सेयर होल्डर बनेको छ। योबाहेक कैयौं यस्ता नियम छन् जसले गर्दा प्रविधिजन्य कम्पनीलाई स्थायी रूपमा त्यहाँ रहन चीनले बाध्य बनाइदिन्छ। उदाहरणका लागि एप्पल कम्पनीले चीनको एक स्थानीय कम्पनीसँग मिलेर आफ्नो पहिलो डाटा स्टोरेज सेन्टर खोल्यो। चीन सरकारको नियम पालना गर्दै खुलेको उक्त कम्पनीको सबै महŒवपूर्ण जानकारी चीनलाई दिनुपर्ने भयो।

चीनले आफ्नो सेनामा पनि आर्टिफिसियल इन्टेलिजेन्सलाई बढाइरहेको छ। एआईको माध्यमबाट टाढै बसेर पनि हतियारको माध्यमबाट युद्धलाई नियन्त्रण गर्न सकिन्छ। चीनले यस्तै एआईयुक्त मिसाइलको विकास गर्दैछ, जसले आफ्नो गन्तव्यलाई पहिचान गरेर बिनाकुनै मानवीय सहयोग आक्रमण गर्न सक्छ।

चीनको सहर सेन्जेनमा एआईमा काम गर्ने यस्ता धेरै कम्पनी छन्। यीमध्ये धेरै कम्पनीले स्वास्थ्य उपचार क्षेत्रलाई कसरी आधुनिक बनाउने भनेर काम गरिरहेका छन्। चीनको समाचार एजेन्सी सिन्ह्वाकाअनुसार सन् २००७ देखि चीनले एउटा यस्तो सफ्टवेयर विकास गर्दैछ जसले युद्धको मैदानमा तीव्र गतिमा सही निर्णय लिन मद्दत गर्नेछ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार