कविता- “निकै जाडो छ !”

-चन्द्र गुरुङ

माइनस डिग्रीमा

चिस्सिएका छन् सब ।

 

जुलुस हिँड्ने खुट्टा जुत्ताभित्रै निदाएका छन्

विरोधमा उठ्ने हात खल्तीमा घुस्रिएका छन्

छोपिएका छन् मफलरले

नारा चिच्याउनु पर्ने मुख ।

 

निकै जाडो छ

मस्तिष्कको न्युरोन गल्लीमा सिरेटो चलेको छ

मनको पोखरीमा विचारको प्रवाह थुनिएको छ

विश्वास कठ्याङ्ग्रिएको छ

थला परेका छन्

उमङ्ग, जोश र जाँगर ।

 

जाडो असाध्य छ

जाडोले चेतनाको कान थुनिएको छ

जाडोले विवेकको आँखा डम्म ढाकिदिएको छ

जाडोमा मौन छ शब्दको खलबल ।

 

अन्यौलको हुस्सु व्याप्त छ सबथोकमाथि

मनको प्रदेश निष्क्रियताको हिउँमा पुरिएको छ

आशाका बोटहरू उजाड उभिएका छन्

शान्त छ प्रतिरोधको स्वर ।

 

निकै जाडो छ

रिसको आवेग झोक्रिएको छ

धारामा पानीझैँ नसा–नसामा रगत चिसो बग्दै छ

पाइपमा हिँउझैँ हृदयमा आक्रोश ठिहिरिँदै छ

अडिएको छ समय निस्तेज ।

 

यस जाडोमा

एउटा तानाशाहका निरङ्कुश ओठमा

फुलिरहेको छ कुटिल मुस्कान ।

 हालः बहराइन
फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार