जनार्दन शर्माको- ‘दुई अध्यक्षले के गर्लान् भनेर अब हेरेर बस्नु हुँदैन’

२०७७ असार २० शनिबार, काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टी फुटाउन नदिने बताएका छन्। पाँच बुँदेका सुत्रधारसमेत रहेका उनले आजको स्थायी कमिटी बैठक स्थगित भएलगत्तै फेसबुक मार्फत अब दुई अध्यक्षले के गर्छन् भन्दै हेरेर बस्ने बेला नरहेको पनि बताएका छन् । उनले नेकपाभित्रको विवाद राष्ट्र र कम्युनिस्ट आन्दोलनकै समस्या भएको तर्क गरेका छन्।

‘नेकपाभित्रको विवादलाई सीमित नेताहरूको समस्याको रुपमा मात्र नहेरौ यो हाम्रो राष्ट्र, देश र कम्युनिस्ट आन्दोलनको समस्याको रुपमा देखिएको छ,’ शर्माले लेखेका छन्, ‘दुई नेताले के गर्लान भनेर अब हेरेर बस्नु हुँदैन। पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका हामी आम नेता कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको छ। म दृढता पुर्वक भन्न चाहन्छु पार्टी फुट्दैन। फुटाउन दिइदैन।’

पार्टीलाई विचार, विधि र पद्धतिबाट विचलित गरी व्यक्तिका आ-आफ्ना स्वार्थ पूर्तिको हतियार बन्न दिन नहुने तर्क पनि गरेका छन्।  शर्माले एकताका सहमति र जनताको सुझावका आधारमा अघि बढ्न नेतृत्वालाई आग्रह गरेका छन्।

‘एकता गर्दा गरिएका सहमति, आम जनता र कार्यकर्ताको सुझावको आधारमा तयार हुने सहमतिको नयाँ प्रस्ताव स्वीकार गरी रुपान्तरणसहित नेतृत्व गर्न नेताहरूलाई आग्रह गर्दछौं। कार्यकर्ता र जनताको आग्रह अस्विकार गर्ने अधिकार कुनै नेता विशेषलाई प्राप्त छैन भन्ने कुरा स्मरण गराउन चाहन्छु,’ उनले भनेका छन्। उनले रुपान्तरणसहितको एकता आजको आवश्यकता रहेको उनको भनाइ छ।

नेकपाभित्रको विवादले पार्टी फुटको संघारमा पुगेको छ। नेताहरुबीच सहमति नहुँदा आजका लागि बोलाइएको बैठक २२ गतेसम्मका लागि स्थगित गरिएको छ। शुक्रबारको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको भेटमा शर्मा पनि सहभागी थिए।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार