कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध

२०७७ असार २० शनिबार, गोरखा । गोरखामा कोरोना संक्रमित एक पुरूषको शव व्यवस्थापनमा स्थानीय बासिन्दाले अवरोध गरेका छन् । पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय एक पुरूषको शनिबार बिहान गोरखा अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो। ती पुरूषको शव अबुवा नजिकै लुदी र दरौंदी नदी दोभान बगरमा खाल्डो खनेर व्यवस्थापन गर्ने निर्णय जिल्लास्थित सुरक्षा समितिले गरेपछि स्थानीय बासिन्दाले विरोध गरेका हुन्।

गोरखा नगरपालिकास्थित देउराली र सहिद लखन गाउँपालिकास्थित बक्राङका बासिन्दाले शव व्यवस्थापन गर्न नदिने भन्दै अवरोध गरेका हुन्। ‘४०/५० जनाको संख्यामा मानिसहरू आएर अवरोध गर्न खोज्नुभएको हो। हामी उहाँहरूलाई सम्झाउँदैछौं,’ जिल्ला प्रहरी कार्यालय गोरखाका एपसी सुरेन्द्र गुरूङले भने, ‘केहीबेरमा शव व्यवस्थापन गर्छौं।’

स्थानीय बासिन्दाको अवरोधपछि गोरखा अस्पतालमा रहेको शव त्यसतर्फ लैजान सकिएको छैन। गोरखा सदरमुकामबाट करिब १८ किमी टाढा लुदी/दरौंदी दोभानमा शव व्यवस्थापन गर्न लागिएको हो। शव व्यवस्थापनका लागि खाल्डो खन्न जेसिबी पुगेपछि स्थानीय बासिन्दाले अवरोध गरेका हुन्।

पालुङटार नगरपालिका घर भएका मृतकको शव किन गोरखा नगरपालिका क्षेत्रमा गाड्ने भन्दै उनीहरूले विरोध गरेका हुन्। स्वास्थ्य सुरक्षा मापदण्डअनुसार पिपिईलगायत सामग्री लगाएर नेपाली सेनाका चार जनाले शव व्यवस्थापन गर्नेछन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार