गुडिरहेको बाइक ठोक्किएर आगोलागी

२०७७ असार २० शनिबार, कास्की । पोखराको नयाँ बजारमा शनिबार दिउँसो साढे ३ बजे २ वटा मोटरसाइकलमा आपसमा ठोक्किँदा आगजनी भएको छ। ठोक्किँदा लागेको आगोले दुवै मोटरसाइकल जलेर खरानी भएका छन्।

दुवै मोटरसाइकल महेन्द्रपुलतिरबाट नयाँ बजार गइरहेका थिए। बृहस्पति आयल स्टोर्सको ठिक सामुन्ने पुग्दा ती मोटरसाइकल ठोक्किएका हुन्। दुवै मोटरसाइकलमा २/२ जना सवार थिए। सबै ४ जना सामान्य घाइते भएका छन्। पोखरा २७ रिठेपानीका २५ वर्षे इच्छा गुरुङले चलाएको ग १६ प ४४४१ र सुरेन्द्र सुनारले चलाएको ३८६१ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्। इच्छाको बाइकको पछाडि बसेका २० वर्षे दीपेन्द्र नेपाली र सुरेन्द्रले चलाएको बाइकको पछाडि बसेकी सुनीता सुनार गरी सबै ४ जनाका हातमा ददारिएको छ। उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएको छ।

मोटरसाइकलमा लागेको आगो निभाउन पोखरा महानगरपालिकाको दमकल आइपुगेका थियो। तर आगोले ध्वस्त भइसकेका बाइक काम लाग्ने गरी जोगिएनन्। बलिरहेको आगो मात्रै दमकलले निभाउन सक्यो।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार