प्रधानमन्त्री ‘अब कित्ता क्लियर गर्नुस्, राष्ट्रपति र ममाथि षड्यन्त्र भइरहेको छ, जुनसुकै कदम चाल्न सक्छु’

२०७७ असार २१ आइतबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र गुटको द्वन्द्व बढ्दै जाँदा दुबै पक्षले आन्तरिक छलफल र तयारीलाई तीव्रता दिएका छन्। शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसँग भेट गरेपछि मन्त्रिपरिषद् सदस्यसँग छलफल गरेका छन्। अध्यक्ष पुष्पकमल दाहालसहितका सचिवालय सदस्यहरुले छुट्टै परामर्श गरेका छन्।

बालुवाटारमा मन्त्री र  राज्यमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले जुनसुकै बेला कुनै पनि निर्णय हुन सक्ने बताउँदै आफूलाई साथ दिने वा नदिने भनेर प्रश्न समेत मन्त्रीहरुलाई गरेका छन्। जसका लागि एक दुई दिन समय दिने पनि ओलीले बताएका छन्।

आफूले बाध्यतावश कुनै पनि कदम चाल्नुपर्ने अवस्था सिर्जना भएको भन्दै प्रधानमन्त्रीले पोजिसन क्लियर गर्न आग्रह गरेका हुन्।

‘अनौपचारिक छलफल थियो। अवस्था गम्भीर छ, तपाईँहरुको लाइन क्लियर हुनुपर्‍यो। एक दुई दिनपछि बैठक बोलाउँछु। मेरो पक्षमा उभिने कि नउभिने? स्पष्ट भएर आउनुस् भन्नुभयो,’ एक मन्त्रीले भने।

पार्टीभित्रको आन्तरिक परिस्थिति निकै जटिल भइसकेको पनि प्रधानमन्त्रीले बैठकमा बताएका छन्। प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछोड्ने अडान पनि बैठकमा सुनाएका छन्। स्थायी समिति बैठकले सहमतिमा गरेका बाहेक अन्य निर्णय मान्न आफू बाध्य नभएको पनि प्रधानमन्त्रीले बताएका छन्।

यस्तै प्रधानमन्त्रीले राष्ट्रपति र आफूमाथि प्रचण्ड-नेपाल समूहले अनावश्यक लाञ्छान लगाएको पनि टिप्पणी गरेका छन् । बैठकमा प्रधानमन्त्रीले आफू र राष्ट्रपतिमाथि प्रचण्ड-नेपाल समूहले षडयन्त्र गरेको पनि बताएका छन्। महाभियोग र अविश्वासको प्रस्तावको तयारी भएको पनि प्रधानमन्त्रीले बैठकमा मन्त्रीहरुसँग दाबी गरेका छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार