इंग्ल्यान्डमा अझै खुकुलाे हुँदै लकडाउन

२०७७ असार २१ आइतबार, एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण कम हुँदै गएपछि इंग्ल्यान्डमा लकडाउन झनै खुकुलो बनाइएको छ । करिब तीन महिनादेखि बन्द रहेका इंग्ल्यान्डका पब, रेस्टुरेन्ट र होटलहरू शनिबारदेखि सञ्चालनमा आएका छन् । त्यसैगरी सैलुन, सिनेमालगायत व्यवसाय सञ्चालन गर्ने अनुमति पनि दिइएको छ ।

शनिबारदेखि नै दुई घरका मानिसहरू आउटडोर, इन्डोर भेटघाट गर्न र रात बस्नसमेत पाउने नियम ल्याइएको छ । ३० जनासम्मको जमघटमा बिहे समारोह र प्रार्थना अनि पूजा गर्ने ठाउँहरू पनि खुलेका छन् । आउटडोर जिम, बालबालिकाका खेल मैदान, पुस्तकालय, कम्युनिटी सेन्टर, बिंगो हल, संग्रहालय, फन फेयर, थिम पार्क, सोसियल क्लब आदि पनि खुला भएका छन् । लेस्टरमा भने संक्रमण बढेका कारण त्यस क्षेत्रमा पूर्ण लकडाउन गरिएको छ ।

पब, रेस्टुरेन्टमा एक मिटरभन्दा बढी सामाजिक दूरी कायम गर्नुपर्नेलगायतका नियम भने अनिवार्य गरिएको छ । इंग्ल्यान्डका करिब ३७ हजार ५ सय पबमध्ये २८ हजार पब सरकारको निर्देशिकाअनुसार कम्तीमा एक मिटरको दूरी कायम गर्दै सेवा दिन सक्षम रहेका ब्रिटिस बियर एन्ड पब्स् एसोसिएसनले जनाएको छ ।

यूकेस्थित व्यवसायीहरूको संस्था ट्रेड यूकेले यो सप्ताहान्तमा इंग्ल्यान्डका कुल पब र बारहरूमध्ये ५३ प्रतिशत र रेस्टुरेन्टमध्ये ४७ प्रतिशत खुल्ने र झन्डै ९० लाख मानिस त्यहाँ पुग्ने अनुमान गरेको छ ।

इंग्ल्यान्डमा जस्तै नर्दन आयरल्यान्डमा पनि शुक्रबारदेखि उल्लेखित व्यवसाय सञ्चालन हुँंदैछन् । स्कटल्यान्डमा आउँदो सोमबारदेखि खुलाइँदै छ भने वेल्समा अझै मिति तय गरिएको छैन ।

सरकारका वैज्ञानिक सल्लाहकारहरूले भने लकडाउन खुकुलो पारिनुको अर्थ जोखिम हटिसकेको भन्ने नभएको बताएका छन् । बेलायतमा कोभिड–१९ का कारण शुक्रबार पनि १३७ जनाको मृत्यु भएको छ । हालसम्म मर्नेको संख्या ४४ हजार १ सय ३१ पुगेको छ । संक्रमित संख्या करिब दुई लाख ८५ हजार छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार