सार्वजनिक यातायात सञ्चालनको निर्णय भएको छैन : महासचिव सिटौला

२०७७ असार २१ आइतबार, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक यातायात सञ्चालनसम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पारेको छ। केही सञ्चारमाध्यमले यही असार २१ गतेदेखि सार्वजनिक सवारीसाधन सञ्चालन हुने भनी प्रकाशित गरेको सामाचार झुटो भएको भन्दै महासङ्घले यस्तो निर्णय नभएको विज्ञप्तिमार्फत जनाएको छ।

‘नेपालका केही सञ्चारमाध्याममार्फत यही असार २१ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्ने भन्ने सुन्नमा आएपनि महासङ्घले यसबारे कुनै निर्णय नगरेको स्पष्ट पार्न चाहन्छु,’ महासङ्घका महासचिव सरोज सिटौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सरकार, मजदूर र व्यवसायीबीच छलफल भइरहेको उल्लेख छ। महासङ्घले सार्वजनिक सवारीसाधन सञ्चालन नहुँदा यातायात व्यवसायी, मजदूर र यात्रुलाई परेको मर्काप्रति संवेदनशील हुन सरकारलाई अनुरोधसमेत गरेको छ।

सरकारले आगामी साउन ७ गतेसम्म बन्दाबन्दी राख्ने निर्णयसँगै सार्वजनिक यातायात सञ्चालनमा अन्योलता देखिएको विज्ञप्तिमा भनिएको छ। महासङ्घ र मजदूर ट्रेड युनियनले बन्दाबन्दीका कारण परेको असरका बारेमा सरकारलाई मौखिक र लिखित रूपमा जानकारी गराउँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ। सरकारले गत चैत ११ मा बन्दाबन्दी लागू गरेसँगै देशभरका सार्वजनिक सवारीसाधन ठप्प छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार