ओलीको समर्थनमा उत्रिए युवाहरु

२०७७ असार २१ आइतबार, काठमाडौं । असार १८ गते बिहीवार युवाहरूले माइतीघर मण्डलमा सरकारको समर्थनमा प्रदर्शन गरे। अरुबेला सरकारको समर्थनमा हजारौको संख्यामा भिड हुने गरेकोमा यसपालि भने मुस्किलले सय जनामात्र थिए।

उनीहरूले नेपालको राष्ट्रिय झण्डा र ‘फेर्नु छ चाँडो देशको मुहार हाम्रो भविष्य हाम्रो सरकार’ भन्ने नारा र ‘सपोर्ट पीएम केपी ओली’ ह्यासट्याग भएको प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विर बोकेका थिए।

‘वैदेशिक हस्तक्षेप बन्द गर’, ‘सम्पूर्ण देश प्रेमी नागरिक एक हौं’, ‘भारतीय दलाल होसियार’, ‘आज होइन भोलिलाई हाम्रो समर्थन ओलीलाई’, ‘वैदेशिक हस्तक्षेप चाहिँदैन सरकार ढाल्न पाइँदैन’ भन्ने नारा लगाए।

स्वतस्फूर्त भनिएको प्रदर्शनमा राष्ट्रिय युवा संघ नेपालका नेता वकिल बम अंग्रपक्तिमा थिए। उनी प्रधानमन्त्री केपी शर्मा ओली निकट हुन्।

‘प्रधानमन्त्रीको पद होइन राष्ट्र र राष्ट्रिय भूमि जोगाउन हामी निस्वार्थ सडकमा आएका हौं। राष्ट्र र राष्ट्रियताको पक्षमा बोल्दा छिमेकी र देशभित्रैबाट पद धरापमा पारिएको छ,’ प्रदर्शनबारे बमले भने, ‘त्यसविरुद्ध हामीले सडक रोज्यौं। हाम्रा नेताले फोहोरी खेल खेल्नुहुन्न भनेर सडकमा उत्रेका हौं। सरकारलाई काम गर्ने वातावरण बनाउन सबै जनता निस्वार्थ रुपमा सडकमा आउनुपर्छ।’

आफूहरूलाई प्रधानमन्त्री वा अन्य कुनै नेताले सडकमा जान निर्देशन नदिएको र राष्ट्र र राष्ट्रियताको पक्षमा आफूहरू स्वस्फूर्त सडकमा आएको उनको दावी छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार