ओली-प्रचण्ड बैठक सकियो : ठोस निर्णय भएन !

२०७७ असार २१ आइतबार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला आइतबार पनि भेटघाट र वार्ताका चरण शुरु भएका छन् ।राष्ट्रपति भण्डारीसँगको भेटपछि नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच भएको छलफल सकिएको छ ।ओली र प्रचण्डले दोस्रो तहका आफु पक्षका नेतालाई सहभागी गराएर छलफल शुरु गरेका थिए ।

आजको छलफलमा ठोस सहमति नभएपनि सोमबारको बैठक अघि फेरी बसेर सहमतिको विन्दु खोज्ने सहमति भएको छ । आजको बैठकमा दुवै अध्यक्ष आआफ्नो अडानबाट पछि नहटेको तर थप असमझदारी बढाउने कदम नचाल्नेमा सहमत भएका छन् । दुवै अध्यक्षले पार्टी एकता बचाउनु पर्छ भन्नेमा सहमत भएको भएपनि अहिलेको संकटलाई कसरी समाधान गर्ने भन्ने बारेमा सहमतिको विन्दु खोजेर अगाडी बढ्ने  समझदारी बनेको बताइएको छ ।

यसका लागि अनौपचारिक रुपमा आजको बैठकमा सहभागी भएका विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र बर्षामान पुनलाई जिम्मा दिइएको बताइएको छ ।यी नेताहरुले बनाएको सहमतिको नयाँ फर्मुलामा दुवै अध्यक्षबीच सोमबार विहान छलफल हुने भएको छ ।

यसअघि शुक्रबार भएको दुई अध्यक्षको छलफलमा पनि विष्णु पौडेल र जनार्दन शर्मा उपस्थिति थिए भने आजको छलफलमा इश्वर पोखरेल, शंकर पोखरेल र वर्षमान पुन थपिएका थिए । यसअघि आइतबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेकपाका शिर्ष नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए ।

प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतका नेता शीतल निवास पुगेका थिए ।शीतल निवासमा राष्ट्रपतिसँग बाहिर आएको जस्तो राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी नभएको भन्ने बारे स्पष्ट गर्ने नेकपा नेताहरु गएको बुझिएको छ ।शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा संकट उत्पन्न भएको, आफु र राष्ट्रपतिविरुद्ध षड्यन्त्र भएको भन्दै मन्त्रीहरुलाई कुन पक्षमा रहने हो आफ्नो कित्ता प्रष्ट पार्न निर्देशन दिएसँगै नेकपा भित्र तरंग सिर्जना भएको थियो ।

यसअघि शनिबारका लागि तय भएको स्थायी कमिटीको बैठक समेत ठोस सहमति र छलफल हुन नसकेपछि सोमबारका लागि सारिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार