देउवाले फेरि कोट्याए सातचोटी प्रधानमन्त्री बन्ने प्रसंग, केन्द्रीय समितिमा बिफ्रिङ!

२०७७ असार २१ आइतबार, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सात पटक प्रधानमन्त्री बन्ने ज्योतिषीको भविष्यवाणीको प्रसंग फेरि कोट्याएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा देउवाले यसबारे बिफ्रिङ गरेको श्रोतले बताएको छ ।

केन्द्रीय समितिमा मन्तव्य राख्दै देउवाले हिजो चुनावका बेला आफूलाई कांग्रेसबाट अन्तिम प्रधानमन्त्री भन्ने ओलीले अहिले सत्ता सहकार्यका लागि प्रस्ताव गरेको जानकारी गराएका थिए । आफूसँग बालुवाटारमा भएको भेटमा ओलीले सत्ता सहकार्यबारे प्रस्ताव गरेको तर आफूले पार्टीमा सल्लाह गरेर निर्णय दिने बताएको जानकारी देउवाले बैठकलाई दिएका छन् ।

त्यसपछि पनि ओलीले आफूसँग सत्ता सहकार्यका लागि नेता सुवास नेम्वाङमार्फत प्रस्ताव पठाएको देउवाले बताएका छन् ।नेकपा संसदीय दलका उपनेता नेम्वाङ केपी ओलीको सन्देश बोकेर आइतबार बिहान देउवा निवास पुगेका थिए ।

‘नेम्वाङजीले पार्टीका नेताहरुले राष्ट्रपतिमाथि नै षड्यन्त्र हुन खोजेको छ भन्दै सहयोग माग्नु भएको थियो । मैले पनि ठट्टाको शैलीमा ओलीले गएको चुनावमा देउवा कांग्रेसबाट अन्तिम प्रधानमन्त्री भन्नुभएको थियो । ज्योतिषीले ७ चोटी प्रधानमन्त्री बन्नुहुन्छ भन्नुभएको थियो । अहिले यस्तो कुरा गर्नुहुन्छ भनेँ’, सुवास नेम्वाङसँगको छलफल उदृत गर्दै देउवाले पार्टीलाई ब्रिफिङ गर्दै भनेका छन् ।

२०७४ साल कार्तिकमा धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले आफूलाई ज्योतिषले सात पटक प्रधानमन्त्री बन्छस् भनेको बताएका थिए ।

सत्ताधारी पार्टी नेपाल कम्युनिष्ट पार्टीमा देखिएको विवादले ओली सरकार संकटमा परेका बेला देउवाले आफूलाई ज्योतिषले सात पटक प्रधानमन्त्री बन्ने भनि गरेको भविष्यवाणीको प्रसंग कोट्याएका हुन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार