शीर्ष तीनमा छिर्‍यो भारत, रसियालाई उछिन्यो

२०७७ असार २२ साेमबार, एजेन्सी । भारत कोरोना संक्रमित मुलुकको शीर्ष तीन मुलुकभित्र पुगेको छ। कोभिड १९ का कारण खराब मुलुकहरुको सूचीमा चौथो स्थानमा रहेको भारतमा एकै दिन झन्डै २५ हजार नयाँ संक्रमित थपिएपछि रसियालाई उछिनेको हो। भारतमा आइतवार एकै दिन ४ सय २१ जनाको मृत्यु समेत भयो। गएको पाँच दिनमा २ हजार ३ सय भारतीयको कोरोनाका कारण मृत्यु भइसकेको छ।

भारतमा अहिलेसम्म ६ लाख ९७ हजार ८ सय ८७ संक्रमित भेटिएको आधिकारिक पुष्टि भइसकेको छ। रसियामा रहेका संक्रमितको संख्यालाई भारतले उछिनेको हो। भारतभन्दा अगाडि अब ब्राजिल र अमेरिकामात्र रहेका छन्। दुवै मुलुकमा संक्रमितको संख्या लगातार बढिरहेको छ। मृत्यु हुनेको संख्यामा पनि अमेरिका र ब्राजिल ने अगाडि छन्।

आइतवार भारतमा २४ हजार ९ सय १२ नयाँ संक्रमित भेटिएका हुन्। पछिल्लो पाँच दिनमा मात्र भारतमा १ लाखभन्दा धेरै संक्रमित थपिए।

नेपालसँग जोडिएको भारतीय राज्य उत्तर प्रदेशको अवस्था थप खराब बन्दै गएको छ। त्यहाँ एकै दिन ११ सय ५५ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ एकै दिन थपिएका संक्रमितको यो सबैभन्दा ठूलो अंक हो। महाराष्ट्रमा पनि संक्रमित बढ्ने रफ्तार रोकिएको छैन। त्यहाँ एकै दिन ७ हजार भन्दा धेरै संक्रमित थपिएका छन्। वंगालमा पनि ८ सय ९५ नयाँ संक्रमित थपिएका छन्।

विश्वकै खराब मुलुकको पहिलो सूचीमा रहेको अमेरिकामा अहिले संक्रमितको संख्या २८ लाख ३९ हजार भन्दा माथि छ भने ब्राजिलमा १६ लाख पुग्नै लागेको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार