ओली र प्रचण्डबीच ‘वान अन वान’ वार्ता सकियो, भोलि फेरि बस्ने

२०७७ असार २२ साेमबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ। पार्टीको किचलो उत्कर्षमा पुगेका बेला सोमबार प्रधानमन्त्री समेत रहेका ओली र प्रचण्डबीच साढे दुई घण्टा ‘वान अन वान वार्ता’ भएको हो।

‘दुई अध्यक्षबीच गम्भीरतापूर्वक छलफल भएको छ। भोलि पुन: बस्ने भन्ने कुरा भएको छ’ छलफलबारे प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले भने।आइतवार वार्ताका लागि कार्यदल बनेको र पाँच बुँदे सहमति भनेर बाहिरएको विषयमा प्रचण्ड गम्भीर रहेको उनले बताए। ‘वार्ताका लागि कार्यदल बनेको र सहमतिको ड्राफ भन्दै बाहिरिएको कुरा गलत हो’ सापकोटाले भने।

सोमबारको छलफलपछिमात्रै प्रचण्डले प्रधानमन्त्री ओलीसँग वार्ताको वातावरण बनेको महसुस गरेका छन्। नेकपाको किचलोले पार्टी गम्भीर संकटमा पुगेको भन्दै दुई अध्यक्षले वार्ता गर्ने निश्कर्ष निकालेको थियो। शुक्रबार दुई अध्यक्षबीच ३ घण्टा लामो छलफल भएको थियो। आइतवार पनि उनीहरु बीच २ घण्टा वार्ता भएको थियो। तर नेताहरुबीच कुनै सहमति हुन सकेको छैन।

शनिवारका लागि बोलाइएको स्थायी कमिटी बैठक आजका लागि सारिएको थियो। तर आज पनि बैठक नबस्दै स्थायी कमिटी २४ गतेसम्मका लागि स्थगित गरिएको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार