डीएसपीसहित ८ प्रहरीको हत्यारा गुण्डा विकास दुबे नेपाल पसेको आशंका

२०७७ असार २२ साेमबार, सुदुरपश्चिम । भारतको उत्तर प्रदेशमा डीएसपीसहित ८ प्रहरी कर्मचारीको हत्या गरी फरार रहेका गुण्डा नाइके नेपालतर्फ भागेको आशंकामा नेपाल-भारत सीमा क्षेत्रमा कडाई गरिएको छ।

उत्तरप्रदेशसँग जोडिएका नेपालका कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही जिल्लाका सीमामा उच्च सुरक्षा सतर्कता अपनाइएको नवभारत टाइम्सले जनाएको छ। नेपालसँग उत्तर प्रदेशका ७ वटा जिल्ला जोडिएका छन्। यी सबै जिल्लामा विशेष अलर्ट गरिएको छ। सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ। यसबारे यूपी पुलिस आधिकारिक रुपमा भने बोलेको छैन।

उत्तर प्रदेशको कानपुरमा ३ दिनअघि विकास दुबेको समूहले ८ प्रहरी अधिकारीको हत्या गरेको थियो। दुबेको खोजीमा एसटीएफको २५ टिम र तीन हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ। धरपकड बढाएको छ। साथै उनीमाथि १ लाख रुपैयाँको पुरस्कार पनि राखिएको छ। चारैतिर पोस्टर लगाएर खोजी कार्य जारी छ।

विकासका परिवारसहित ५ सय आफन्त तथा मित्रको मोबाइल फोन प्रहरीको निगरानीमा राखिएको छ। उत्तर प्रदेशका ७५ वटै जिल्लामा विकास दुबे र उनका सदस्यको गिरफ्तारीका लागि अलर्ट गरिएको छ।

प्रहरीले घटनामा संलग्न विकास दुबेका १८ जना साझेदारमाथि २५/२५ हजार रुपैयाँको पुरस्कार तोकेको छ। एक जनालाई भने घटनास्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।

यता यूपी पुलिसले केन्द्रीय खुफिया सुरक्षा एजेन्सीसँग सूचना उपलब्ध गराउन सहयोग मागेको छ। दिल्लीबाट इन्टेलिजेन्स ब्यूरो पनि खटिएको छ।

नेपाली पक्ष सतर्क

छिमेकी देशमा प्रहरी अधिकारीको हत्या गरेर नेपाली प्रशासन पनि चनाखो भएको छ। खासगरी उत्तर प्रदेशसँग सीमा जोडिएको सुदूरपश्चिम र ५ नम्बर प्रदेशका सुरक्षा अधिकारीले निगरानी बढाएका छन्। भारतीय पक्षबाट औपचारिक सूचना नआए पनि कुख्यात अपराधी विकास दुबेले सीमापार गर्न सक्ने भन्दै नेपालतर्फ पनि सुरक्षा सतर्कता बढाइएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश कुमार सिंहले दुबेका गतिविधिमा आफूहरु जानकार र सचेत रहेको बताए। ‘अहिले सीमामा बाक्लो मुभमेन्ट छैन। लुकिछिपी आउन सक्ने खतरा छ। घटनाबारे जानका छौं। औपचारिक रुपमा भारतीय काउन्टरपार्टले केही भनेको छैन। नोटिसमा लिएका छौं। सचेत छौ। देखा पर्‍यो भने नियन्त्रणमा लिन्छौं। दुबे अपराधी हो। नेपालमा आउँदा हाम्रो लागि चुनौती हुन्छ,’ उनले भने।

५ नम्बर प्रदेश प्रहरीका प्रवक्ता एसएसपी राजकुमार वैदवारले दुबेका आपराधिक गतिविधिमाथि निगरानी गरिरहेको बताए। ‘हाम्रो लेभलमा त्यो विषयमा अहिलेसम्म औपचारिक जानकारी आएको छैन। तर अपराधीको गतिविधि निगरानी गरिरहेका छौं। बोर्डरमा हामी सतर्क छौं,’ उनले भने।

नेपाल भागेको शिवसेनाको दाबी

आइतवार मात्रै भारतीय शिवसेनाले विकास दुबे नेपालतर्फ भागेको र त्यहाँ गएर लुकेको आरोप लगाएको थियो। विगता दाउदजस्तै दुबेले नेपालमा बसेर भारतविरुद्ध गतिविधि गर्न सक्ने आरोप शिवसेनाले लगाएको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार