आइपिएल आयोजना गर्न श्रीलंका र युएईपछि न्युजील्याण्डको प्रस्ताव !

२०७७ असार २२ साेमबार, एजेन्सी । कोरोना भाइरसका कारण स्थगित भएको बहुहर्चित टी-२० लिग इन्डियन प्रिमियर लिग (आइपिएल) को आयोजना गर्न इच्छा देखाउने देशमा न्युजील्याण्ड थपिएको छ । न्युजील्याण्डले यस बर्षको आइपिएल आयोजना गर्न भारतीय क्रिकेट कन्ट्रोल बोर्डलाई प्रस्ताव गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

कोरोना लगभग नियन्त्रणमा आएको न्युजील्याण्डले क्रिकेटको यो लोकप्रिय प्रतियोगीता आयोजना गर्ने प्रस्ताव गरेको हो । अन्य हिसाबले ठिक भएपनि न्युजील्याण्डमा आइपिएल गर्दा खेलको समय नमिल्ने बताइएको छ ।

न्युजील्याण्डमा रातिमा हुने खेलहरु यता भारतको समय दिउसो १२ बजे आसपासको हुने हुनाले काममा जानेका लागि खेल हेर्ने अवसर नहुने भएकाले बोर्डले अन्य उपायका बारेमा छलफल गरिरहेको बताइएको छ ।

यसअघि श्रीलंका र युएईले समेत बोर्डलाई आइपिएल आयोजना गर्ने प्रस्ताव दिएका थिए । भारतीय क्रिकेट बोर्डले भने छिट्टै यस बारेमा निर्णय लिने बताइएको छ । यस अघि सन २००९ मा भारतमा आम निर्वाचन हुदा आइपिएल दक्षिण अफ्रीकामा खेलिएको थियो भने २०१४ का केहि खेलहरु युएईमा खेलिएको थियो ।

भारतीय बोर्डले भने पहिलो प्रथामिकता भारतमै गर्ने गरि योजना बनिरहेको बताइएको छ । कोरोना महामारीका कारण गत मार्च २९ देखि हुने भनिएको आइपिएल अहिलेसम्म हुनसकेको छैन ।

त्यस्तै अहिले भारत र चीनबीच सीमा विवाद बढ्दै गएपछि आइपिएलमा मुख्य प्रयोजन रहेको चिनियाँ मोबाइल कम्पनि भिभोको प्रयोजन के गर्ने भन्ने बारे बोर्डले छिट्टै निर्णय लिन लागेको बताइएको छ । भिभो मोबाइल २०२२ सम्मको आइपिएलका लागि ४४० करोड भारतीय रुपियाँमा आइपिएलको मुख्य प्रायोजक बनेको थियो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार