बार्सिलोनाको सानदार जित

२०७७ असार २३ मङ्गलबार, एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित हात पारेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई उसैको मैदानमा ४-१ गोलले हरायो। यस जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दूरी चार अंकले घटाएको छ।

ला लिगामा अब चार खेल बाँकी रहँदा ला लिगाको उपाधि होड पनि रोचक बन्दै गएको छ। उपाधि दौडमा रियल र बार्सिलोना अगाडि छन्। रियल अझै बलियो अवस्थामा छ। आइतबार राति नै भएको खेलमा रियलले एथलेटिक बिल्बाओलाई १-० गोलले स्तब्ध बनाएको थियो। बार्सिलोनालाई उपाधि रक्षा गर्न अब सबै खेल जित्नुपर्ने बाध्यता छ; जसमा रियलले अंक गुमाउँदै जानुपर्ने छ।

बार्सिलोनाको जितमा लुइस स्वारेज, एन्टोइन ग्रिजम्यान र अन्सु फातीले गोल गरे। बार्सिलोनाले अर्को गोल आत्मघाती रूपमा उपहार पाएको थियो। भिल्लारियलका जेरार्ड मोरेनोले सान्त्वना गोल गरेका थिए। बार्सिलोनाले खेल सुरु भएको तेस्रो मिनटमै आत्मघाती गोल सहयोगमा अग्रता लिएको थियो।

बल बचाउने क्रममा भिल्लारियलका पाउ टोरेसको प्रहार आफ्नै पोस्टमा छिरेको थियो। त्यसपछि भिल्लारियलका जेरार्डले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। बराबरीपछि जोसिएको बार्सिलोनाले २०औं मिनेटमा पुनः अग्रता लियो। स्वारेजले कप्तान लियोनल मेसीको पासमा गोल गर्दै बार्सिलोनालाई अगाडि बढाएका थिए।

४५औं मिनेटमा ग्रिजम्यानले मेसीकै पासमा गोल गर्दै बार्सिलोनालाई थप बलियो बनाए। ६९औं मिनेटमा मेसीले गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)को सहायतामा मान्यता दिइएन। ८६औं मिनेटमा युवा स्टार अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए। ७२औं मिनेटमा ग्रिजम्यानको स्थानमा मैदान छिरेका फातीले जोर्डी अल्वाको पासमा गोल गरेका थिए।

भिल्लारियलले राम्रा अवसर बनाए पनि थप गोल गर्न सकेन। जितसँगै बार्सिलोनाले ३४ खेलबाट ७३ अंक बनाएको छ। भिल्लारियल ५४ अंकसहित पाँचौं स्थानमा छ। शीर्ष स्थानमा रहेको रियलको समान खेलबाट ७७ अंक छ।

आइतबार राति भएको खेलमा रियललाई जिताउन सर्जियो रामोसले पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए। बिल्बाओका ड्यानी गार्सियाले मार्सेलोलाई डिबक्सभित्र लडाएपछि रेफ्रीले भीएआरको सहायतामा रियललाई पेनाल्टी दिएका थिए। त्यसलाई रामोसले सही सदुपयोग गरे। ला लिगामा यस सिजन रामोसले १० गोल गरेका छन्। खेलभर रियललाई बलियो टक्कर दिएको बिल्बाओले गोल फर्काउन भने सकेन। ४८ अंक बनाएको बिल्बाओ तालिकाको आठौं स्थानमा छ।

आइतबार राति नै भएको अर्को खेलमा लेगानेसले स्पान्योललाई १-० गोलले स्तब्ध बनायो। लेगानेसको जितमा जोनाथन क्रिस्टियन सिल्भाले ५३औं मिनेटमा गोल गरेका थिए। जितसँगै २८ अंक बनाएको लेगानेस १९औं स्थानमा छ। लेगानेससँगै अन्तिममा रहेको स्पान्योल पनि रेलिगेसनको मारमा छ। अर्को खेलमा गेटाफे र ओसासुनाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार