माधव नेपालसँग बार्ता नगर्ने हो भने कुरा मिल्दैन: डा. भुसाल

२०७७ असार २३ मङ्गलबार, काठमाडौं । नेकपाको संस्थापन पक्षका नेताहरुले विपक्षी दल नेपाली कांग्रेससँगको भेटघाटलाई बाक्लो बनाएकोप्रति संस्थापनइतरका नेताहरुले आपत्ती जनाएका छन् । पार्टीको आन्तरिक राजनीतिमा चिनियाँ प्रभाव बढीरहेको अवस्थामा विदेश हस्तक्षेपसँगै विपक्षीसँगको सहमति पनि उत्तिकै घातक हुने उनिहरुको बुझाई छ ।

नेकपा स्थायी कमिटी सदस्य डा. बेदुराम भुसालले पार्टीको आन्तरिक राजनीतिका विषयमा विपक्षसँग कुरागर्नु उपयुक्त नभएको बताउनुभयो । उहाँले सत्तापक्ष र विपक्षी दलबिच सरकारको कामलगायत अन्य देशहितका विषयमा छलफल हुनु स्वाभाविक भएपनि पार्टीको आन्तरिक राजनीतिमा विपक्षीलाई जोड्न खोज्नु बेठिक भएको बताउनुभयो ।

भुसालले प्रधानमन्त्री ओली र विपक्षी दलका नेता छलफल भएको भोलिपल्टै संसद अधिवेशन अन्त्य भएको र ओली निकट मानिनुभएका संसदीय दलका उपनेता सुवास नेम्वाङले कांग्रेस सभापति देउवालाई भेटेकोप्रति संकेत गर्दै विपक्षीसँगको छलफलमा पार्टीका विषयहरु प्रवेश गराउनु गलत हुने दोहोर्याउनुभयो ।

विपक्षी कांग्रेसप्रति प्रश्न उठाउनु भएका नेता डा.भुसालले नेकपाको विवादमा चीनको भुमिका किङमेकरका रुपमा नभएको र चीनका राजदूतले नेताहरुसँग गरेका कुरा धेरै उचाल्न नहुने बताउनुभयो । यो नियमित भेटघाट भएकाले चीनका राजदूतले भेटेर विवाद साम्य भएको भन्नु गलत भएको उहाँको भनाई छ ।

पार्टीको विवादलाई लिएर प्रधानमन्त्रीले सडकमा शक्ति देखाउन खोजेको आरोप लगाउदै भुसालले भन्नुभयो,‘एकतापछि पार्टी सञ्चालन गर्ने विधि विग्रिएको छ । दुई जनाले मात्रै निर्णय गर्दा भएन र झन विवाद चर्कियो । उहाँहरुकै कारण कार्यकर्ताबिचमा झडप हुनु गलत हो र यो माथिको निर्देशनबाट भएको हो । प्रधानमन्त्रीले सडकमा जुलुस निकाल्न मिल्दैन । जुलुसले समाधान आउदैन । बैठकले सहमति खोज्ने हो ।”

उहाँले बक्तब्यबाजी र सडक आन्दोलन पार्टीको आन्तरिक विषयका लागि किन चाहियो भनेर प्रति प्र्रश्न पनि गर्नुभयो । विधिबाट सञ्चालित हुने पार्टीमा कुनै व्यक्ति पार्टीभन्दा माथि नहुने र विधि र पद्धति अनुसार अगाडी जान सके पार्टीको आन्तरिक राजनीतिमा भारत र चीन नआउने उहाँले बताउनुभयो ।

भुसालले भन्नुभयो,‘प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच मात्रै बार्ता भइरहेको छ, यसरी हुँदैन । प्रधानमन्त्रीले माधव नेपालसँग बार्ता नगर्ने हो भने कुरा मिल्दैन । व्यक्ति व्यक्तिले टालेर मात्रै समधान आउदैन । सामुहिक छलफल हुनुपर्छ । पार्टीमा सहमति खोज्ने हो । सहमति भएन भने बहुमतले गर्ने हो । पार्टी एकिकरण गरेपछि पनि धेरै निर्णयहरु बहुमतका आधारमा भएका छन् । ओलीले नमान्ने भए विगतमा बहुमतबाट भएका निर्णयहरु उल्टनुपर्छ ।’

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार