ओली-प्रचण्डको कुरा अझै मिलेन

२०७७ असार २४ बुधबार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दै छ । गत शनिबारको बैठकपछि दुई पटक स्थगित भएर आज बस्न लागेको बैठक बारे कौतुहलता बढेको छ । यस बीचमा दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार, सोमबार र मंगलबार लगातार छलफल भएपनि ठोस निर्णयमा भने पुग्न सकेका छैनन ।

मंगलबारसम्मको दुई अध्यक्षको छलफलको प्रगति उनीहरु छलफल गर्न तयार भएका छन्, यसलाई पनि उपलब्धि मान्नुपर्ने नेकपाका नेताहरु बताउछन् ।  पटक पटक भएका छलफलपछि अहिले आरोप प्रत्यारोपभन्दा सहमतिको फर्मुला बनाउने दिशामा केन्द्रित हुन थालेको बताइएपनि कस्तो फर्मुला बनाउने भन्ने अझै तय हुननसकेको बताइएको छ ।

प्रधानमन्त्री ओली दुवै पदबाट राजीनामा दिन तयार भएका छैनन् भने उनी गत मङ्सिरमा भएको सहमतिको जगमा नै नयाँ सहमति  गर्नुपर्नेमा जोड दिदै आएका छन् ।  तर अर्का अध्यक्ष प्रचण्डले भने पार्टी एकीकरण हुदाको सहमतिकै आधारमा नयाँ सहमति गर्नुपर्ने बताएका छन् ।  प्रचण्डको मुख्य माग ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिने नै रहेको देखिएको छ ।

तर प्रधानमन्त्री ओलीले भने प्रधानमन्त्रीबाट राजीनामा नदिने र पार्टीले कारवाही गरेमा आफु आफ्नै किसिमले अगाडी बढ्ने बताउदै आएका छन् । नेकपाको विवाद समाधानको प्रयासमा दुई अध्यक्ष लागिरहेका बेला नेकपाका नेताहरुलाई भेट्न नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीको दौडधुप पनि निकै चर्चामा रहेको छ ।

यस बिचमा यान्छीले दुई वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई उनीहरुकै निवासमा गएर भेटेकी छन् । भेटमा उनले चीनले नेकपा एक भएको देख्न चाहेको सन्देश दिदै पार्टी फुटाउने दिशातर्फ नजान दबाब दिएको बताइएको छ ।

यसअघि गत बैशाखमा नेकपाको विवाद उत्कर्षमा पुगेको बेला पनि उनले नेकपाका नेताहरुलाई भेटेर मिलेर अगाडी जान दबाब दिएको विषय चर्चामा रहेको थियो ।

अहिलेसम्मको नेकपाको विवादको स्वरूप हेर्दा नेकपा फुटी हाल्ने या प्रधानमन्त्री ओलीले राजीनामा दिने दुवै अनुमान गर्न सकिन्न । दोस्रो तहका नेताहरुको दबाब, देशभरक कार्यकर्ताको भावना आदिले पनि पार्टी फुटी हाल्ने या प्रधानमन्त्रीको राजीनामा आउने सम्भावना नदेखिएको नेकपाकै नेताहरु बताउछन् । अहिले नेताहरु स्वयं दबाबमा रहेको देखिएको छ । तर मंगलबारसम्मको दुई अध्यक्षको छलफलमा दुवै आआफ्नो अडानमा कायम रहेकाले अब के हुन्छ भनेर भन्न सकिने अवस्था देखिएको छैन । प्रधानमन्त्रीले राजीनामा नदिने र प्रचण्डले राजीनामा मात्र विकल्प रहेको अडान कायमै राखेको बताइएको छ ।

असहमतिका बीच दुवै अध्यक्ष स्थायी कमिटी बैठक संचालन गर्न सहमत भएकाले आजको बैठक बस्ने भएको छ । प्रचण्डले पार्टी कमिटीमै छलफल गरेर निष्कर्ष निकाल्नु पर्ने अडान राख्दै आएका छन् भने ओलीले एजेन्डाभन्दा बाहिर गएर एकोहोरोरुपमा घेराबन्दी गरेर राजीनामा मागिएकोमा असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

आज ११ बजे हुने भनिएको स्थायी कमिटी बैठक अगाडी दुवै अध्यक्षले फेरी छलफल गर्ने बताइएको छ । मंगलबारको छलफलबाट स्थायी कमिटी बैठक जारी राख्नेमा सहमत भएपनि दुवै अध्यक्षबीच आज छलफल भएमा सो अनुसार नै स्थायी कमिटी बैठक बस्ने, नबस्ने बारे भन्न सकिने नेकपा नेताहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार