वेस्ट इन्डिजलाई इङ्ल्यान्डको चुनौंती

२०७७ असार २४ बुधबार, एजेन्सी । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीपछि पहिलोपटक सुरु हुन लागेको टेस्ट क्रिकेटमा वेस्ट इन्डिजले घरेलु टोली इङ्ल्यान्डको सामना गर्दैछ। पहिलो टेस्ट बुधबारदेखि साउथह्याम्पटनको रोजबल स्टेडियममा हुनेछ।

कोरोना भाइरसको त्रासका कारण रंगशालामा थोरै सर्वसाधारणलाई मात्र प्रवेश दिइने भएको छ। २० हजार क्षमताको रोजबल स्टेडियममा सीमित दर्शकले मात्र प्रत्यक्ष रूपमा खेल हेर्न पाउने छन्। लामो समयदेखि स्थगित क्रिकेटका गतिविधि यही टेस्टमार्फत सुचारु हुन लागेको हो। तीन टेस्टको शृंखला २१ दिनको हुनेछ।

दोस्रो टेस्ट जुलाई १६ र तेस्रो टेस्ट जुलाई २४ मा सुरु हुनेछ। शृंखला अवधिभर दुवै टोलीका खेलाडीले निश्चित होटेलमै बस्नु पर्नेछ। खेलाडीले परिवारका सदस्य र साथीभाइ भेट्दा पनि विशेष सावधानी अपाउनुपर्ने नियम बनाइएको छ। शृंखलामा सहभागी हुन वेस्ट इन्डिज टोली जुन ९ मा इङ्ल्यान्ड आएको थियो।

इङ्ल्यान्ड आएपछि वेस्ट इन्डिजका खेलाडीले ओल्ड ट्राफोर्डमा तयार पारिएको क्वारेन्टाइनमा १४ दिन बसेपछि मात्र प्रशिक्षण थालेका थिए। यसबीच उनीहरूको पटक पटक कोरोना टेस्ट गरिएको थियो। यसअघि उक्त शृंखला जुन ४ देखि २९ सम्म आयोजना गर्ने तय भएको थियो। तर, कोरोना भाइरसको महामारीका कारण शृंखला स्थगित गरिएको थियो।

वेस्ट इन्डिजविरुद्धको टेस्टलगत्तै इङ्ल्यान्डले पाकिस्तानसँग पनि तीन टेस्टको शृंखला खेल्नेछ। पाकिस्तानसँगै टीट्वेन्टी शृंखला खेल्ने इङ्ल्यान्डले आयरल्यान्डसँग एकदिवसीय खेल खेल्नेछ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार