२०७७ असार २४ बुधबार, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा सेभिल्लाले कठिन जित निकालेको छ। घरेलु मैदानमा सोमबार राति भएको खेलमा सेभिल्लाले इबरलाई १–० गोलले हरायो। जितसँगै सेभिल्लाले शीर्ष चारमा रहँदै च्याम्पियन्स लिग फुटबलमा छनोट हुने सम्भावना पनि बलियो बनाएको छ।
सेभिल्लाको जितमा लुकास ओकम्पसले निर्णायक गोल गरे। लुकासले ५६औं मिनेटमा जेसस नाभासको पासमा गोल गरेका थिए। प्रतिस्पर्धात्मक खेलमा इबरले सेभिल्लालाई कडा टक्कर दिएको थियो। गोलको अवसर बनाए पनि इबरको प्रयास सफल बन्न सकेन।
२७औं मिनेटमा इबरका टाकासी इनुइ पोस्ट नजिक चुकेका थिए। सेभिल्लाले पनि पहिलो हाफमा दुई वटा राम्रा अवसर खेर फालेको थियो। ओकम्पसले ४२औं र पहिलो हाफको इन्जुरी समयमा पाएको मौका सुदुपयोग गर्न सकेनन्। दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर पाए पनि थप गोल नहुँदा सेभिल्ला विजयी भयो।
जितसँगै चौथो स्थानमा रहेको सेभिल्लाले ३४ खेलबाट ६० अंक बनाएको छ। समान खेलबाट ३५ अंक बनाएको इबर १६औं स्थानमा छ। सेभिल्लापछि पाँचौं स्थानमा रहेको भिल्ला रियलको ५४ अंक छ। शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको ७७ अंक छ। साविक विजेता बार्सिलोना ७३ अंकसहित दोस्रो स्थानमा छ। तेस्रो स्थानमा आसिन एट्लेटिको म्याड्रिडको ६२ अंक छ।
सोमबार राति नै भएको अर्को खेलमा रियल सोसियडाड र लेभान्तेले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। लेभान्तेको मैदानमा भएको रोचक खेलमा सोसियडाडले सुरुआती अग्रता लिएको थियो। अलेक्जेन्डर इसाकले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। तर, सोसियडाडको अग्रता चार मिनेट पनि टिक्न सकेन। १६औं मिनेटमा लेभान्तेका जोस लुइस मोरालेसले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। त्यसपछि थप गोल नहुँदा दुवै टोलीले एक÷एक अंक बाँडे। बराबरीसँगै ५२ अंक बनाएको सोसियडाड सातौं स्थानमा छ। ४३ अंक बनाएको लेभान्ते १२औं स्थानमा छ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’