रातो मछिन्द्रनाथको रथारोहण साउन ७ गते, घरमै बसेर रथयात्रा हेर्न आग्रह

२०७७ असार २४ बुधबार, काठमाडौं । लोकेश्वर बुंगद्य: (रातो मछिन्द्रनाथ)लाई साउन ७ गते पुल्चोकमा बनाइएको रथमा रथारोहण गराइने भएको छ। यसअघि असार २४ गते रथारोहण गराउने भनिएको थियो। तर कसरी जात्रा संचालन गर्ने भन्ने बारेमा भने अन्यौल थियो।

कोरोना संक्रमण बढ्दै गएको अवस्थामा भिड हुने गरी जात्रा गर्न नहुने माग उठिरहेको बेलामा रथारोहण स्थगित गर्दै सरोकारवाला पक्षहरु छलफलमा जुटेका थिए। बैठकले सुरक्षा सतर्कता अपनाउँदै रथ यात्राको नयाँ मिति तालिका सार्वजनिक गरेका हुन्। जस अनुसार ७ गते रथारोहणपछि साउन १० गते रथ तान्ने जनाइएको छ।

रथ तान्ने बेलामा मानिसहरुलाई नआउन आग्रह गरिएको छ। घरबाटै रथ यात्रा प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइनेछ। रथ यात्रा हुने प्रत्येक स्थानमा सुरक्षाकर्मी र स्वयंमसेवकहरुलाई खटाइनेछ। जात्राको क्रममा भिडभाड नगर्न र परिस्थितिलाई बुझिदिन सबैलाई आग्रह गरिएको छ।

रथ तान्न निश्चित युवाहरुलाई मात्रै दिइनेछ। करिब ६० देखि ७० जनाले मात्रै रथ तान्ने भन्ने जनाइएको छ। उनीहरुको मास्क, स्यानिटाइजरको व्यवस्था गरिनेछ। रथ वरिपरि कुनै पनि प्रकारको पसल राख्न निषेध गरिएको छ। जात्रा अवधिमा यसअघि हुँदै आएको भोज नगर्ने निर्णय गरिएको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार