उपभोक्ता समिति गठनमा विवाद हुँदा बारामा झडप

२०७७ असार २४ बुधबार, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं २४ हरपुरमा दुई पक्षबीच झडप हुदाँ ६ जना घाइते भएका छन्। घाइतेहरुलाई अस्पताल लगिने काम भइरहेको बारा प्रहरीले जनाएको छ।

बारा प्रहरीका अनुसार घाइतेहरुको विवरण आउन बाँकी रहेको बारा प्रहरीका प्रवक्ता गौतम मिश्रले जानकारी गराए। हरपुरस्थित दुधौरा खोलामा ड्याम निर्माणका लागि प्रदेश सरकारबाट आएको बजेटको काम गर्न उपभोक्ता समिति गठन गर्न लागिएको थियो। गाउँ भेलामा स्थानीय दुई पक्षबीच सहमति नहुँदा झडप भएको वडाध्यक्ष इलियास देवानले जानकारी दिए।

ड्याम निर्माणको सहमतिका लागि छलफलमा सहभागी व्यक्तिबीच मारामारी चलेपछि बैठक स्थगित गरिएको देवानले बताए। देवानले भने, ‘प्रदेश सरकारबाट बजेट आएको छ। त्यसैमा छलफल गर्न पञ्चायत बसेको एकैछिन हुँदैन भनेर हुल उठाएर चोकतिर गएर मारामारी गरेछन्। पञ्चायतीमा झगडा भएको हैन। मैले प्रहरीलाई फोन गरें। दुई ठाउँबाट प्रहरी आइपुग्यो।’

केही दिनमा बैठक फेरी आयाजना गर्ने उनले बताए।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार