मेरा बा किसान हुन्

कविता

निधार उचालेर लेकतिर पठाइदिन्छन्
औँलाहरू फुकालेर बेसीतिर पठाइदिन्छन्
माटो हो कि कपडाजस्तो जिन्दगी लगाएर
थाप्लोमा पसिनाको भारी बोक्छन्
नखाँदा पनि अघाएजस्तो उनको चेहरामा
कहिले घाम दौडिरहेको देख्छु
कहिले गुराँसझैँ फुलिरहेका जूनताराहरू भेट्छु
मेरा बा किसान हुन्
गरागरामा दौडिहिँड्ने पानीका गीतांगे लहरहरूमा
कति बजे होलान् मेरा बाको पैताला छप्ल्यांगछुप्लुंग
भिज्दाभिज्दै बर्सादी र घुमजस्ता बनेका उनका आंगभरि
थाहा छैन बादलसँगै कतिपल्ट खस्यो होला आकाश
कतिपल्ट बज्रिए होलान् नुनजस्ता असिना
कतिपल्ट बास बस्यो होला उनका आँखामा
चराजस्तै चन्चले दिन
उनी गणित जान्दैनन्
कति ढाकर फलाए होलान् रहरजस्ता आँप र लिचीहरू
र पठाए होलान् थुक निल्दै डाँडापारिको बजारमा
महँगो जुस पिउँदै ठूल्ठूला कल्पना गर्ने यी बजारहरूले
कहिल्यै कल्पेका छैनन् मेरा बाको आत्मविश्वासको गोरेटो
साँझको नीलो पहाड पखालेझैँ
जतिपटक चामल पखाले पनि नीलै देख्छु
त्यहाँ पक्कै मेरा बाको परिश्रमको रंग टाँसिएको हुनुपर्छ
उनी औँलाले प्रत्येक बिहान
शीतका झुप्पाहरू फुलिरहेका हरियो करेसाबारी देखाउँछन्
र भन्छन्, यस्तो हुनुपर्छ जीवन
हँसिया चलाउँदा बगेर खेर जान खोज्ने आफ्नै रगतले
छातीका अदृश्य घाउहरू धुन्छन्
र शिरैभरि फुलाइरहन्छन्, घर आँगन र खेतबारीको मुस्कान
यो सहरमा संसारलाई अक्षरहरूमा कैद गर्छु भन्ने
अनगिन्ती अखबारहरू छन्
दृश्यहरूमा समेट्छु भन्ने
टेलिभिजन च्यानलहरू पनि छन्
तर, ती अखबारका पानाहरूमा
वा, टेलिभिजनका स्क्रिनहरूमा
मैले कहिल्यै देखेको छैन मेरा बाको नाम
र, उनले हलो जोत्दै गरेको फोटो
ए, कोही त बोल
सगरमाथाभन्दा अग्ला हौँ भन्ने यो घरैघरको सहरले
पानी पिउँछ कि पसिना
दूध पिउँछ कि खोसिएको आँसु
चामल किन्छ कि किसानहरूको सपना
सुन्तला र आरुबखडाहरू टिपेर सहर पठाएपिच्छे
नि:शुल्क आइरहेछन् यहाँ मेरा बाको कमिजको धागो
र काँडाले कोतर्दा फलहरूमा लतपतिएको रगत
के यति सस्तो छ जिन्दगी ?
समयको यही विन्दुबाट
आज बालाई दिल खोलेर भन्न मन लागिरहेछ
बा तपाईँ त
यो आधुनिक सहरले कहिल्यै नदेख्ने
श्रमको ईश्वर हुनुहुँदोरहेछ ।
फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार