लिभरपुलको सपना टुट्यो

२०७७ असार २८ आइतबार, एजेन्सी । इंग्लिस प्रिमियर लिगको नयाँ च्याम्पियन लिभरपुलको घरेलु मैदानमा सबै खेल जित्तेर लिग टुंग्याउने सपना टुटेको छ । लिभरपुलको सो चाहनामा बर्नली बाधक बन्यो ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुल घरेलु मैदानमा बर्नलीसँग १–१ को बराबरीमा रोकियो । लिभरपुलले यसअघिसम्म यो सिजन लिगमा घरेलु मैदानमा भएका सबै खेल जितेको थियो ।

३४ औँ मिनेटमा रोबर्टसनले गोल गरी लिभरपुललाई सुरुवाति अग्रता दिलाएका थिए । तर ६९ औँ मिनेटमा बर्नलीका जे रोड्रिग्वेजले बराबरी गोल गरे । योसँगै घरेलु मैदानमा लिभरपुलको विजयी यात्रामा पूर्णविराम लाग्यो ।

बराबरीपछि उपाधि विजेता लिभरपुलको तीन खेल बाँकी हुँदा ९३ अंक भएको छ । १०० अंकको आँकडा पूरा गर्न बाँकी तीनै खेलमा लिभरपुलले जित निकाल्नु पर्ने हुन्छ । बर्नली ३५ खेलबाट ५० अंकसहित नवौँ स्थानमा पुगेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार