मेसीको ला लिगामा नयाँ रेकर्ड

२०७७ असार २८ आइतबार, एजेन्सी । लियोनेल मेसीले ला लिगामा नयाँ रेकर्ड बनाएका छन् । गएराती रियल भल्लाडोलिडविरुद्धको खेलमा असिस्ट गरेसँगै मेसी ला लिगाको इतिहासमा पहिलो पटक एकै सिजनमा २० भन्दा बढी गोल र २० असिस्ट गर्ने खेलाडी बनेका छन् । मेसीले यस सिजनमा ला लिगामा २२ गोल गरेका छन् भने असिस्ट संख्या २० पुर्याएसँगै यस्तो रेकर्ड बनाएका हुन् ।

खेलको १५औ मिनेटमा अर्टूरो भिडालले गरेको गोललाई असिस्ट गरेसंगै मेसीले ला लिगाको इतिहासमा यस्तो किर्तिमान लेखाएका हुन् । २० गोल असिस्ट भने बार्सिलोनाका लिजेण्ड खेलाडी जाभीले सन २००८-०९ सिजनमा गरेका थिए । तर २० गोलसंगै २० असिस्ट भने अहिलेसम्म कुनै खेलाडीले गरेको थिएन । साथै मेसीले १८ बर्ष अगाडीको प्रिमियर लिगमा बनेको यस्तो रेकर्डपछि यो उपलब्धि हासिल गरेका हुन् ।

प्रिमियर लिगमा १८ बर्ष अगाडी सन २००२-०३ सिजनमा थिएरी हेनरीले आर्सनलबाट खेल्दै २४ गोल र २० असिस्ट गरेका थिए । ला लिग जित्न संघर्ष गरिरहेको बार्सिलोनाले गएरातीको जितपछि रियल म्याड्रिडसँगको दुरी एक अंकमा झारेको छ । अब लिगमा केबल दुई खेल खेल्न बाँकी हुदा यस सिजनको ला लिगाको उपाधि भने रियलले जित्ने सम्भावना बढेको छ ।

बार्सिलोनाभन्दा एक खेल कम खेलेको रियलको ८० अंक छ भने बार्सिलोनाको ७९ अंक रहेको छ । बार्सिलोनाले बाँकी दुवै खेल जितेपनि रियल म्याड्रिड ३ मध्ये २ खेलमा पराजित नभएसम्म लिग जित्न नसक्ने देखिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार