लेस्टरको लज्जास्पद हार

२०७७ असार २९ साेमबार, काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लेस्टर सिटी पराजित भएको छ । गएराती सम्पन्न खेलमा लेस्टर सिटीले बोर्नमाउथसँग ४-१ गोल अन्तरले लज्जास्पद हार बेहोरेको छ । बोर्नमाउथको जितमा डोमोनिक सोलान्केले दुई गोल गरे भने जुनियर स्टेनिसलास र जोनी एभान्सले एक एक गोल गरेका थिए । त्यस्तै लेस्टरका लागि जेम्स भार्डीले एक गोल गरेका थिए ।

यस खेलमा खेलको ६७औ मिनेटमा लेस्टरका काग्लर सोयुनकुले रातो कार्ड पाएर मैदान छोडेपछि लेस्टर सिटी १० खेलाडीमा सिमित भएको थियो ।

यो हारले लेस्टर सिटी चेल्सीलाई जितेर तेस्रो स्थानमा उक्लिने अवसरबाट चुकेको छ । त्यस्तै लेस्टरको यो हारले चेल्सीलाई भने ठुलो राहत भएको छ । पछिल्लो खेल हारेपछि चेल्सी पाँचौ स्थानमा झर्ने सम्भावना लेस्टरको यो हारपछि टरेको छ ।

च्याम्पियन्स लिग छनौटको दौडमा रहेका चेल्सी, लेस्टर र म्यानचेस्टर युनाइटेडबीच तेस्रो र चौथो स्थानको लडाई जारी रहेको छ । अब एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेडले आफ्नो आज राति हुने साउथहम्पटनविरुद्धको खेल जितेर तेस्रो स्थानमा उक्लिने अवसर रहेको छ ।

लेस्टरको ३५ खेलपछि ५९ अंक छ भने चेल्सीको ६० र युनाइटेडको ५८ अंक रहेको छ । त्यस्तै यो जितपछि बोर्नमाउथको भने ३५ खेलमा ३१ अंक भएको छ र रेलिगेसन जोनमा रहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार