सिमानामा सेना बढाउँदै चीन , भारत भन्छ, ‘हामि कसैसँग झुक्दैनौँ’

एजेन्सी

२२ जेठ २०७७
बेइजिङ : चीनले भारतसँगको विवादित हिमालय सीमा क्षेत्रमा आफ्ना फौज फेरि पठाएको छ ।

भारतको पूर्वोत्तर सीमा क्षेत्रस्थित विवादित सीमाक्षेत्रमा चीनले सेनाको संख्या बढाएको हो । लद्दाख लगायतका क्षेत्र हाल दुई देशका सेनाका कारण तनाबग्रस्त बनेको छ । भारतीय उच्च अधिकारीहरुले पनि चिनियाँ सेनाको संख्या त्यहाँ बढेको बताएका छन् । भारतीय रक्षामन्त्री राजनाथ सिंहले हालै दुई देशको सिमानामा चिनियाँ सेनाको संख्या उल्लेख्य मात्रामा बढाइएको बताएका छन् ।

‘चीनका जनता सिमानामा भएको सत्य हो, उनीहरु त्यस ठाउँलाई आफ्नो भूभाग दावी गर्छन् । हामी पनि हाम्रो दावी गर्छौँ । यसमा असमझदारी छ । भारतले आवस्यक सबै गरेको छ,’ रक्षामन्त्री सिंहले भने ।

उनले दुई देशबीच उच्चस्तरीय वार्ता जुन ६ मा हुने पनि बताएका छन् । रक्षामन्त्री सिंहले भनेका छन्, ‘हामी कुनै पनि देशलाई हाम्रो सामु झुकाउन चाहँदैनौँ र हामी पनि कसैको सामु झुक्न चाहन्नौँ ।’

चीन र भारत संसारकै सबैभन्दा लामो सिमाना भएका देश पनि हुन् । १९६२ मा यी दुई देशबीच सीमा विवादलाई लिएर युद्ध गरेका थिए । त्यसपछि पनि बारम्बार सीमा विवाद बल्झिने गरेको छ ।

गत महिना सिक्किमको उत्तरी क्षेत्रस्थित सिमानामा दुई देशका सेनाबीच झडप भएको थियो । कैयौँ घाइते समेत भएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने सीमाको अवस्था स्थिर र नियन्त्रित रहेको प्रतिक्रिया दिएका थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार