मेसीले- यस्तै खेले च्याम्पियन्स लिग पनि जितिदैन

२०७७ श्रावण २ शुक्रबार, एजेन्सी । स्पेनिस ला लिगाको यस सिजन गुमाएपछि बार्सिलोनाका कप्तान लियोनेल मेसीले कडा प्रतिक्रिया दिएका छन् । मेसीले यस्तो खेल जारी राखे च्याम्पियन्स लिगमा नापोलीविरुद्ध पनि हार्ने चेतावनी दिएका छन् ।

गएराती ओसासुनाविरुद्धको खेल हारेको बार्सिलोनाले यस सिजनमा लिगमा छैठौ बेहोरेको छ । योसँगै यस सिजनको उपाधि पनि रियल म्याड्रिडले जितेको छ । रियलले २०१६-१७ सिजनपछि लिग उपाधि जितेको छ भने अहिलेसम्म सबै भन्दा बढी ३४औ पटक लिगको उपाधि जितेको छ । जबकी बार्सिलोनाले अहिलेसम्म २६ पटक लिगको उपाधि जितेको छ ।

मेसीले गएरातीको खेलपछि मुभीस्टार प्लसलाई दिएको अन्तर्वार्तामा आफ्नो निराशा व्यक्त गरेका छन् । ६ पटक बेलुन डोअर जितेका मेसीले आफ्नो टिमले च्याम्पियन्स लिग जित्नेमा समेत ठुलो प्रश्न गरेका छन् । मेसीले भनेका छन् – ‘हामीले यसरी सिजनको अन्त्य चाहेका थिएनौं । आजको खेलले यो सिजन कस्तो भयो भन्ने प्रतिनिधित्व गर्दछ ।’

मेसीले बार्सिलोना धेरै कमजोर, आक्रामक नभएको र अनुमान गर्न नसक्ने किसिमको टिम भएको भन्दै धेरै अंक अनावश्यक रुपमा गुमाएको समेत बताए । साथै उनले सिजनको ‘समरी’ आजको खेल भएको समेत बताए । मेसीले आफुहरु आत्मालोचक बन्नु पर्ने भन्दै रियल म्याड्रिडले के गर्यो भन्ने हेर्नु भन्दा हामीले के गर्यौं भन्ने हेर्नु पर्ने बताए । मेसीले रियल म्याड्रिडलाई लिग जित्न आफुहरुले सहयोग गरेको समेत बताए ।

मेसीले च्याम्पियन्स लिग जित्न बार्सिलोनामा धेरै कुरा परिवर्तन गर्नुपर्नेमा समेत जोड दिएका छन् । उनले भनेका छन् – ‘यदि हामी च्याम्पियन्स लिग जित्न चाहन्छौं भने धेरै कुरा परिवर्तन गर्नु पर्दछ । यदि हामी यस्तै निरन्तरता दियौं भने हामीले नापोलीविरुद्धको खेल पनि हार्ने छौं ।’

नापोलीविरुद्धको खेल अघि केहि समय ब्रेक रहेकाले यसबिचमा टिममा परिवर्तन गर्नुपर्नेमा मेसीले जोड दिएका छन् । मेसीले यस सिजनको लिगमा ३२ खेलमा २३ गोल गरेका छन् भने २० गोल असिस्ट समेत गरेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार