कोभिड–१९को खोप अध्ययनमा रुसी जासुसहरुको साइबर हमला

२०७७ श्रावण २ शुक्रबार, एजेन्सी । कोरोना भाइरसको खोप निर्माणमा लागेका अमेरिका, बेलायत र क्यानडामा अवस्थित संस्थाहरुमा रुसी जासुसले साइबर हमला गरिरहेको सुरक्षाविद्हरुले चेतावनी दिएका छन् । बेलायतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले बताए अनुसार रुसी खुफिया सेवा अन्र्तगत ह्याकरहरुले साइबर हमलाको प्रयास गरेका हुन् ।

यसमा कुनकुन संस्था निशानामा परेका छन् र कति जानकारीहरु चोरी भयो यो भने स्पष्ट पारिएको छैन । यता रुसले भने आफूहरु यसका लागि जिम्मेवार नरहेको दाबी गरिरहेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता डिमिट्री पेस्कोभले भनेका छन्, “औषधि निर्माण कम्पनीहरुमा कसले ह्याक गर्यो भन्नेबारे हामीसँग कुनै जानकारी छैन । हामीले यसमा यति मात्र भन्न सक्छौँ कि यो घटनासँग रुसको कुनै सम्बन्ध छैन ।”

तर यस किसिमको साइबर हमला सम्बन्धी बेलायतको एनसीएससी, क्यानडाको सीएसई, अमेरिकाको डीएचएस र अमेरिकाकै एनएस लगायत अन्तर्राष्ट्रिय समूहका सुरक्षा निकायले बिहीबार चेतावनी जारी गरेका हुन् । सुरक्षाविद्हरुका अनुसार रुसले अस्वीकार गरे पनि यसमा रुसी जासुसहरु नै संलग्न थिए ।

पछिल्ला केही वर्षहरुमा पश्चिमी सुरक्षा एजेन्सीहरुले सरकारी कम्पनी र संघसंस्थाहरुलाई निशानामा पार्ने ह्याकरको नाम खुलस्त रुपमा सार्वजनिक गर्ने गरेका छन् जसले उनीहरुलाई निरुत्साहित गर्ने आशा गरिएको छ । तर हालैको यो घटनामा भने कुनै सरकारी तथ्यांक नभएर कोरोना भाइरस सम्बन्धी रिसर्च जस्तो संवेदनशील विषय जोडिएको छ ।

महामारी चलिरहेका बेला खोप निर्माण सम्बन्धी पूरै दुनियाँको चासो हुनु अस्वभाविक नभएको हुँदा ह्याकरहरु अबका दिनमा अझ बढी सक्रिय रहने अनुमान गरिएको छ । खोप पत्ता लगाउने पहिलो देशले विश्वव्यापी रुपमा नेतृत्व गर्न पाउने हुनाले पनि खोप निर्माणको विषय सबैका लागि अधिक महत्वपूर्ण छ । तीनवटै देशका साइबर निकायहरुले अझ बढी सतर्क रहने र राष्ट्रिय सुरक्षाको स्तर बढाउने बताएका छन् ।

बीबीसी

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार