पाँच महिनाअघि शिकार खेल्न गएका एक जनाको बन्दूकसहित कंकाल फेला

२०७७ श्रावण ४ आइतबार, सुर्खेत । पाँच महिनाअघि बेपत्ता भएका सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर १ का शिवराम रानाको बर्दिया राष्ट्रिय निकुञ्जमा भरुवा बन्दूकसहित मानव कंकाल फेला परेको छ।

२०७६ फागुन १० गतेदेखि हराएका रानाको कंकाल गत असार ३१ गते बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर १ बर्दियास्थित निकुञ्जको पाँडेखोलामा सुर्खेत प्रहरीले फेला पारेको हो। सोही ठाउँका यामबहादुर सम्सेली र सूर्यबहादुर वलीसहित शिकार खेल्न गएका राना बेपत्ता भएपछि श्रीमती मनरुपा रानाले असार १६ गते प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्।

जाहेरीपछि सुर्खेत प्रहरीले अनुसन्धान र खोजतलास गर्ने क्रममा रानाले लगाएको कपडा सहित एक नाले भरुवा बन्दूक, झोला भित्र रहेको गनपाउडर ४ डिब्बा, खुकुरी, हंसिया, फलामको ससाना १३ वटा टुक्रा, टाउकोको खप्पर २ टुक्रा, खुट्टाको हड्डी लगायत अन्य सामग्री फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा यामबहादुर र सूर्यबहादुले शिवरामलाई बाघले आक्रमण गरी मारेको बयान दिएको प्रमुख भट्टले बताए। रानासँगै सिकार खेल्न गएका सोही ठाउँका यामबहादुर सम्मेली र सूर्यबहादुर वलीविरुद्ध श्रीमती मनरुपा रानाले असार १६ गते प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्।

उक्त कंकाल श्रीमती र बुवाले सनाखत गरेपछि रानाको श्रीमतीले कर्तव्य ज्यानमा किटानी जाहेरी दिएकी छन्। किटानी जाहेरी पर्नासाथ नियन्त्राणमा लिएर यामबहादुर र सूर्यबहादुर माथि विस्तृत अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार