गाडी चलाउने बारे व्यवसायी विभाजित, एउटा समुह आजदेखि सडकमा, अर्को समुह छलफलमै

२०७७ श्रावण ५ साेमबार, काठमाडौं । सार्वजनिक सवारी साधन संचालन गर्ने बारेमा यातायात व्यवसायीहरु नै विभाजित भएका छन् । व्यवसायीहरुको एउटा समूहले आजदेखि यातायात सेवा सूचारु गर्ने जनाएको छ भने अर्को पक्ष अझै पनि छलफलमै रहेको छ ।

सार्वजनिक यातायात व्यवसायी महासंघले आफु मातहतका यातायात व्यवसायीहरुलाई आजदेखि यातायात सेवा सूचारु गर्न आग्रह गरेको छ भने यातायात व्यवसायी राष्ट्रिय महासंघले आज पनि छलफल नै गर्न लागेको छ । यातायात सेवा सुचारु गर्ने निर्णय सरकारले केही दिन पहिले गरेपछि अनेक समस्याका कारण तत्काल सवारी साधन संचालन गर्न आनाकानी गर्दै अनेक सर्त राखेका व्यवसायीहरु अहिले आफै विभाजित भएका हुन् ।

यातायात सेवालाई कसरी सूचारु गर्ने भन्ने बारेमा आज पनि दिउँसो १ बजे व्यवसायीहरुका बीचमा छलफलको आयोजना गरिएको महासंघका अध्यक्ष विजय स्वारले जानकारी दिनुभयो । उहाँका अनुसार मौद्रीक नीतिले व्यवसायीका धेरै मागहरुलाई सम्वोधन गरेकाले व्यवसायीहरु खुशी भएर सवारी साधन चलाउन तयार रहेका छन् । तर उनीहरुले अझै एउटा सर्त भने पुरा नभएकाले त्यसका बारेमा छलफल चलिरहेको हो । यातायातका साधन संचालन गर्दा स्वास्थ्य सुरक्षा छ भन्ने सुनिश्चित कसरी गर्न सकिन्छ भन्ने विषय मात्रै अहिले आफुहरुको सर्त रहेको अध्यक्ष स्वारले बताउनुभयो ।

उहाँका अनुसार सार्वजनिक यातायातका यात्रु र कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षा र सतर्कता सुनिश्चित गर्ने उपायहरुका बारेमा आजको बैठकमा छलफल हुनेछ । यातायात मजदुर र यात्रुको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने केही मापदण्डहरु तयार पारेर यातायात सेवा सुचारु गरिने अध्यक्ष स्वारले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार