३८‌‌‍औं विपी स्मृति दिवस

२०७७ श्रावण ६ मङ्गलबार, काठमाडौं । आज साउन ६ गते बीपी स्मृति दिवस अर्थात नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई सम्झिने दिन । वि.सं. १९७१ भदौ २४ गते जन्मिएका कोइरालाको २०३९ साउन ६ गते क्यान्सर रोगसँग लड्दा लड्दै निधन भएको थियो ।

पिता कृष्णप्रसाद कोइराला र माता दिव्यकुमारीका माइला छोरा बीपी राणा शासनको अन्त्य गर्ने सशस्त्र क्रान्तिदेखि २०३६ सालको जनमत सङ्ग्रहसम्म चर्चाको शिखरमै रहे । कोइरालाले राणा शासनकाविरुद्ध नेपाली जनताको अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्ने कार्यको अगुवाइ गरे भने २००७ सालको क्रान्ति निर्माण गर्नका लागि महत्वपूर्ण र ऐतिहासिक भूमिका निर्वाह गरे ।

बीपी नेतृत्वको सरकारले २०१६ सालमा बिर्ता प्रथा खारेज तथा राज्य रजौटा उन्मूलन गरेको थियो । वि.सं. २००७ सालको राणा शासनविरुद्धको क्रान्तिको नेतृत्व गरेका कोइराला २०१५ सालमा दुई तिहाइ बहुमतसहित नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बने ।

तर, तत्कालीन राजा महेन्द्रबाट २०१७ साल पुस १ गते उनलाई अपदस्त गरी जेलमा राख्ने काम भयो । बीपीले आठ वर्षसम्म जेलजीवन र थप आठ वर्ष निर्वासनमा बस्नु परेको थियो ।

बीपीको राजनीतिक ओज
नेपाली राजनीतिका अग्रणी बीपी कोइरालाको ३८ औं स्मृति दिवसमा लोकतान्त्रिक समाजवादलाई स्मरण गर्नु सबैको कर्तव्य हो । बीपी उदारवादी लोकतन्त्रको राजनीतिक संरचनामा समाजवादी आर्थिक-सामाजिक नीतिका पक्षमा थिए, उनका चेतना बहुआयामिक छन् । प्रबौद्धिकताले उनको क्रियाशीलतालाई ओज दिन्थ्यो र मानिसलाई बौद्धिक-भावनात्मक स्पर्श, जसको अभावमा अधिकांश नेताका विचार र कामहरू यान्त्रिक हुने गर्छन् ।

जेलमा होस् वा बाहिर, स्वतन्त्र रूपमा स्वदेशमा बस्ता होस् वा विदेशमा निर्वासित भएर रहेको अवस्था, जहाँ रह्यो त्यहीँ राजनीतिक मञ्च बन्थ्यो । त्यसले राजनीतिक स्पन्दन दिन्थ्यो । साहित्य सिर्जना गर्थ्यो । विचार र चिन्तन प्रवाह गर्थ्यो ।

२०३३ साल पुस १६ गते आठ वर्ष लामो निर्वासन त्यागेर राष्ट्रिय मेलमिलाप तथा एकताको अपीलका साथ स्वदेश फर्किएका बीपीले राष्ट्रिय राजनीतिमा ल्याएको नयाँ मोडलाई नेपाली कांग्रेसले सो दिन राष्ट्रिय मेलमिलाप दिवसका रूपमा मनाउने गर्दछ ।

आदर्शप्रेरित राजनेता
राजनीतिमा ‘बीपी’ र नेपाली साहित्यमा ‘विश्वेश्वर’को नामबाट परिचित कोइराला जहानियाँ राणा शासनविरुद्धको क्रान्तिका एक नायक थिए । उनले राजनीतिलाई मूल्य र आदर्शको परिधिमा राखे ।

पूर्व उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला भन्छिन्- ‘’बीपीको जीवनगाथा नै कठोर र सङ्घर्षमय छ, जन्मँदादेखि मृत्युको शय्यासम्म पुग्दा चयन र शान्तिको सास फेर्न पाउनुभएन । क्यान्सरजस्तो घातक रोगसँग सङ्घर्ष गर्दागर्दै पनि बीपीले राजनीतिक सङ्घर्षलाई कायम नै राख्नुभयो ।’

बीपीले धेरै दुःख भोग्नुप-यो, अभावै अभावको जीवन जिउनु प-यो, कठोरभन्दा कठोर बन्दी जीवन बिताउनु प-यो, ज्यानलाई हत्केलामा राखेर राणाकालमै आमरण अनशन बस्नुभयो, पञ्चायती व्यवस्थामा पनि बीपीले मृत्युलाई अगाडि राखेर राजनीतिक यात्रा गर्नुभएको चर्चा कोइरालाले गरिन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता डा. भीम रावल बीपी कोइरालालाई राजनीतिक र साहित्यिक पाटोबाट अलग अलग सम्झनु उपयुक्त हुने बताउछन् । निरङ्कुशता पल्टाउन र राजनीतिक दललाई बलियो बनाउनुपर्छ भनेर जुन सङ्घर्ष र अडान बीपीले राख्नुभयो, त्यो योगदानको कदर गर्नुपर्ने भनाइ डा. रावलको छ  ।

जीवनको उत्तराद्र्धमा आएर बीपीले राष्ट्रियता र मेलमिलापलाई बढी जोड दिएको पाइन्छ भन्दै उनले कारागारमा बन्दी जीवन बिताउँदा होस् वा बाहिर रहेर बीपीले साहित्यको माध्यमबाट समाजलाई चेतनशील बनाउन योगदान दिएको बताए ।

बीपीले आत्मानुशासनमा रहेर भनाइ र गराइ फरक हुन दिएनन् । आफ्नो सम्पूर्ण जीवन देश र जनताका लागि अर्पण गरे, राजनीतिक सिद्धान्त र आदर्शमा कहिल्यै सम्झौता गरेनन् । बीपीले चाहेको भए जीवनभर जस्तै प्रधानमन्त्री बन्न सक्थ्ये तर, सत्ताभन्दा निष्ठा, आदर्श र त्यागको राजनीति गरे ।

बीपी बितेको ३८ वर्ष भइसक्यो तर राजनीतिका मूलपाठ, आधारभूत संरचना, प्रक्रिया र मान्यता उही छन् । समयक्रममा तिनको स्वरूप परिवर्तन हुन्छ, सारतत्त्व यथावत् रहन्छन् । कैयौं कांग्रेसजनको गुनासो सुनिन्छ, कांग्रेस पार्टीले बीपीको नीति छाड्यो भनेर ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार