शून्यमा झर्‍याे सुनको कारोवार

२०७७ श्रावण ७ बुधबार, काठमाडौं । सुनको मूल्य निरन्तर वृद्धि हुँदै गएका बेला कारोवार भने शून्यमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले भने ‘नेपाली बजारमा मुख्यत कोरोनाको असरका कारण कारोवार शून्य भएको हाे ।’ देशभरका सुनचाँदी व्यवसायीले सुनको कारोवार ठप्प भएको आफूलाई जानकारी गराएको उनले बताए।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको सुनारले बताए। अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ८६८.४५ डलर पुगेको छ। अध्यक्ष सुनारले अन्य क्षेत्रको तुलनामा सुनप्रति लगानीकर्ताको आकर्षण देखिँदा पनि सुनको मूल्य बढेको बताए।

नेपाली बजारमा आज एकै दिन सुनको मूल्य प्रतितोला रु एक हजार ३०० ले बढेको छ। छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५६० पुगेको हो। मङ्गलबार छापावाला सुन प्रतितोला रु ९२ हजार ७०० र तेजाबी सुन प्रतितोला रु ९२ हजार २६० मा खरिदबिक्री भएको थियो।

यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु ९५ ले बढेर एक हजार १३५ पुगेको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार