३८ घण्टापछि सम्पर्कमा आएका कोरोना संक्रमित अस्पताल भर्ना

२०७७ श्रावण १० शनिबार, विराटनगर । कोरोनाभाइरस कोभिड १९ का संक्रमित विराटनगर अस्पतालका ६५ वर्षीय चिकित्सक धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका छन् ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीसँगको लामो संवादसँगै संक्रमित चिकित्सक शुक्रबार राती करिब ११ बजे वीपी प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका हुन् । गत मंगलबारबाट उनमा संक्रमण पुष्टि भएपछि सम्पर्क बाहिर भएका उनी करिब ३८ घण्टापछि महानगरको सम्पर्कमा आएका थिए ।

यसक्रममा सामाजिक सञ्जालमा उनी अस्पतालमा रहने वा घरमा बसेर उपचार गर्ने टिकाटिप्पणी हुँदै आएको थियो । तर, सबै कुरालाई ध्यानमा राख्दै उनी अस्पतालमा उपचारका लागि भर्ना भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

संक्रमित भएसँगै घरबाटै उपचार गर्ने सोच बनाएका उनलाई महानगरले लामोसमय परामर्श गरेको बताइएको छ । महानगर जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीका अनुसार संक्रमित चिकित्सक महानगरको सम्पर्कमा आए देखिनै अस्पतालमा बस्नका लागि परामर्श भएको हो ।

कार्कीले भने, ‘सम्पर्कबाहिर रहँदा जुन किसिमको त्रास र भय ब्यहोरेका थियौं, त्योबाट बाहिर आएका छाैँ । संक्रमित चिकित्सक आफैले धेरै कुरा बुझ्नु भएको छ र अस्पताल बस्नका लागि तयार हुनुभएको छ । धेरैको चासोको विषय बन्नु भएको थियो तर सबैलाई सकारात्मक रुपमा लिएर स्वास्थ्य दायरामा आउनुभयो।’ यससँगै महानगरले चिकित्सकका परिवारसहित अस्पतालका अन्य चिकित्सक, कर्मचारी गरि ५८ जनाको स्वाब नमूना संकलन गरेको छ।

उनीहरु मध्ये चरणबद्ध रुपमा बेलुकासम्ममा सबैको रिर्पोट आउने संभावना रहेको जनस्वास्थ्य महाशाखा कार्कीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार