कस्तो छ सुशान्त सिंहको ‘दिल वेचारा’?

२०७७ श्रावण १० शनिबार, काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुत अभिनित फिल्म ‘दिल वेचारा’ प्रदर्शनमा आएको छ। यो उनले छायाँकन सकेको अन्तिम फिल्म हो जसलाई निर्माण टोलीले लकडाउनबीच प्रदर्शनमा ल्यायो। फिल्म डिजिटल प्ल्याटफर्म हटस्टारमार्फत् शुक्रवार रिलिज भएको हो।

मुकेश छाब्रा निर्देशित ‘दिल वेचारा’ सन् २०१४ मा सार्वजनिक हलिउड फिल्म ‘द फल्ट इन आवर स्टार्स’को रिमेक हो। फिल्ममा सुशान्तसँगै सञ्जना सांघी केन्द्रिय भूमिकामा छन्। सुशान्तको श्रद्धञ्जली स्वरुप फिल्म भारतमा रहेका प्ल्याटफर्म सब्सक्राइब गर्ने र नगर्ने सबैका लागि उपलब्ध छ।

फिल्मबारे सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा समीक्षा भइरहेको छ। हालसम्म ‘दिल वेचारा’बारे मिश्रित टिप्पणी देख्न सकिन्छ। दर्शक एवं फिल्मकर्मीले सुशान्त सिंह राजपुतको अभिनय र फिल्मबारे सकारात्मक चर्चा गरिरहेका छन् भने समीक्षकहरूले फिल्मको आलोचना गरेका छन्।

‘दिल वेचारा हेरें। अन्त्य दर्दनाक भए पनि हृदय छुने फिल्म बनेको छ’, तामिल अभिनेत्री अथुल्या रविले लेखेकी छिन्।

त्यस्तै कस्तुरी शंकरले भनेकी छिन्,’यो फिल्म सुशान्तको एक अभूतपूर्व सफलता हो।’

आजतकमा अमित त्यागीले लेखेका छन् : ‘एउटा राजा थिए। एउटी रानी थिइन्। दुवै मरे। कथा सक्कियो। दिल वेचराका कथा यति नै हो।’

उनले सुशान्तका फ्यानलाई फिल्म मनपर्न सक्ने भएपनि उनको पछिल्‍लो फिल्म ‘छिचोरे’जस्तो सशक्त नभएको जनाएका छन्।

फर्स्टपोस्टका लागि समीक्षक अन्ना भेटिक्याडले फिल्मबारे भनेकी छिन् : दिल वेचाराले मूल कथा र फिल्मको धेरै सकारात्मक पाटोहरूलाई छायाँमा पारेको छ। पुनर्लेखनका कारण त्यसो भएको हुनसक्छ। साथै फिल्मको सम्पादन पनि कमजोर लाग्छ। समग्रमा यो निकै सामान्य बनेको फिल्म हो।
उनले फिल्मलाई पाँचमा दुई स्टार दिएकी छिन्।

एनडिटिभीले फिल्मलाई पाँचमा चार स्टार दिएको छ। लेखिएको छ : दिल वेचारा सधैं सुशान्त सिंहको फिल्म हुनेछ। उनको अभिनयले यो कुरा पुष्टि गर्छ। यस समीक्षामा पनि फिल्मको निर्देशकीय र सम्पादकीय कमजोरीहरू बारे प्रकाश पारिएको छ।

इन्डियन एक्सप्रेसले फिल्मलाई साढे दुई स्टार दिएको छ। उक्त समीक्षामा सुशान्त र सञ्जनाको अभिनयको तारिफ गरिएको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार