जागिर लगाइदिने भन्दै लाखैं रुपैयाँकाे ठगी

२०७७ श्रावण १० शनिबार, काठमाडौं । केही दिनअघि महानगरीय प्रहरी परिसर काठमाडौंमा एक जनाले उजुरी दिए। उनले आफूलाई ठगले झुक्याएर ३ लाख ५० हजार रुपैयाँ लगेको उजुरीमा उल्लेख थियो। ठगी गर्ने मानिसको नाम र हुलिया समेत टिपाए।

नाम – अनिल विक्रम भनिने अनिल वली

ठेगाना – रुकुम वाफिकोट गाउँपालिका वडा नम्बर ३

उमेर – अन्दाजी २४ वर्षीय

उनी हाल काठमाडौंको टोखा नगरपालिकाको महादेवटारमा डेरा गरिबस्दै आएका थिए। उजुरीपछि प्रहरीले युवकको खोजी थाल्यो। केही दिनमा युवकलाई प्रहरीले कीर्तिपुरको भत्केकोपाटीबाट समात्न सफल भयो। युवकले पीडितबाट पटकपटक गरेर ३ लाख ५० हजार रुपैयाँ लिएको देखियो। त्यसपछि प्रहरीले थप अनुसन्धान सुरु गर्‍यो।

त्यसपछि थाहा भयो उनले यसरी नै ठगी गर्दै हिँड्ने रहेछन्। ‘विभिन्न मानिसलाई विभिन्न तरिकाले ठगी गरहेको देखिन्छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले भने।

प्रहरीले युवकको साथबाट बरामद गरेको कागजपत्रले थप ठगी धन्दाको पर्दाफास गरेको थियो। वलीको साथबाट सागर अधिकारीको नामको अर्थ मन्त्रालयको कार्ड, कीर्तिपुर नगरपालिकाको राजश्व संकलन पत्र र कबाडी संकलन विवरण, जनगणना २०७७ लेखिएको कागज, प्रतिबन्धित नेकपा विप्लव समूहको आर्थिक सहयोग गरिदिने पत्रहरू, सोही समूहको सदस्यता रसिद, सोही समूहको कार्यक्रममा लगाउने अतिथि ब्याचहरु, वैज्ञानिक समाजवाद विप्लव लेखेको किताब लगायतका कागजातहरु समेत बरामद भएको छ।

प्रहरीले बरामद गरेका सरकारी कागपत्र सबै नक्कली रहेछन्। तिनै नक्कली कागपत्र देखाएर रकम समेत उठाएको एसएसपी ज्ञवालीले जानकारी दिए। ‘उसले राजश्वको कर्मचारी भन्दै सडकका केही साइकलमा राखिएका व्यापारीबाट पैसा लिने समेत गरेको खुल्छ,’ एसएसपी ज्ञवालीले भने।

वलीले अरु पनि मानिसलाई ठगी गरेको हुनसक्ने भएकाले अनुसन्धान गरिरहेको छ।

ठगीको अर्को रुप

यतिखेर रंगीन तथा बल्ने ढुङ्गा भन्दै मानिसलाई झुक्काएर ठगी गर्ने गिरोह पनि सक्रिय रहेको छ। प्रहरीले बिहीवार दिउँसोमात्र काठमाडौं महानगरपालिका वडा नम्वर ११ त्रिपुरेश्वर स्थित सार्वजानिक सडक खण्डमा विभिन्न प्रकारका रङ्गिन ढुङ्गाहरु देखाएर ठगी गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ। अकेश नकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। चन्द्रागिरी नगरपालिका वडा नं. १४ का ३२ वर्षीय उनी पेशाले गाडी चालक हुन्। एसएलसीसम्म पढेका छन्। उनलाई ठगी कर्ममा साथ दिएका थिए विक्की मगरले। नुवाकोट घर भएका विक्की केही समयदेखि नैकापमा बस्दै आएका छन्। २२ वर्षीय विक्की टुरिष्ट गाइड पनि हुन्।

‘विभिन्न तरिकाले मानिसले पैसा कमाउने सजिलो बाटो ठगी बनाएका छन्। त्यसैले सबै जना सचेत हुनुपर्ने देखिन्छ,’ एसएसपी श्याम ज्ञवालीले भने। दुवैलाई प्रहरीले पक्राउ गरेको हो।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार