राष्ट्रिय फुटबल खेलाडीको पीसीआर पाटन अस्पतालमा हुने

२०७७ श्रावण ११ आइतबार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीको स्वास्थ्य परीक्षण पाटन अस्पतालमा हुने जनाएको छ । बन्द प्रशिक्षणमा बोलाइने ३४ खेलाडीसहित ७० जनाको पीसीआर परीक्षण पाटन अस्पतालमा हुने राष्ट्रिय टोली तयारीका संयोजक तथा व्यवस्थापक मधुसूदन उपाध्यायले जानकारी दिए ।

उनका अनुसार फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ को छनोट खेलका लागि बम्दा प्रशिक्षणमा रहेका खेलाडी, अफिसियलसहित ७० जनाको पीसीआर पाटन अस्पतालमा हुनेछ । उपाध्यायले स्वास्थ मन्त्रालयबाट खेलाडीको पीसीआर पाटन अस्पतालमै गर्नाका लागि अनुमतिपत्र ल्याएको पनि बताए । उनले पाटन अस्पतालमा पीसीआर गर्न अनुमतिपत्र भए पनि त्यसबारे थप छलफल अझै हुने बताए ।

कोरोना भाइरसको जोखिम कायमै रहँदा अभ्यासमा फर्कनुपर्ने हुँदा एन्फाले फिफाको नियम अनुसार सरकारको अनुमति लिँदै प्रशिक्षणमा फर्किने तयारी गरेको छ । प्रशिक्षणमा फर्किनुपूर्व एन्फाले खेलाडीहरुको पीसीआर जाँच गराउनुपर्ने हुन्छ ।

एन्फाले भ्यालीबाहिर रहेका खेलाडीलाई साउन १७ गतेसम्म बन्द प्रशिक्षणका लागि राजधानी फर्किसक्न पत्राचार गरेको छ। फुटबल टोलीले भदौ १ देखि अभ्यास सुरु गर्नेछ । त्यसअघि साउन १७ देखि ३० गतेसम्म खेलाडीलाई क्‍वारेन्टिनमा राखेर पीसीआर जाँच गरिनेछ ।

विश्वकप र एसियन कप छनोट खेलका लागि फागुनमा बन्द प्रशिक्षण सुरु गरिएको थियो । तर, कोरोनाको जोखिम बढेपछि स्थगित भएका थिए । विश्वकप छनोटको अवे खेल खेलिसकेको नेपालले अब बाँकी तीन खेल दशरथ रंगशालामा खेल्नेछ ।

नेपालले बाँकी खेल आगामी अक्टोबरमा चाइनिज ताइपेई र अस्ट्रेलिया तथा नोभेम्बरमा जोर्डनसँग खेल्नेछ । छनोट खेल अक्टोबर ८ देखि सुरु हुने तय भएको छ । छनोटको समूह बिमा रहेको नेपालले सुरुवाती पाँच खेलमा एक जित र चार हारसहित ३ अंक जोडेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार