रञ्जन प्रकरण: फैसला पुनरावलोकन गर्न सर्वोच्चको अनुमति

२०७७ श्रावण ११ आइतबार, काठमाडौं । सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकन हुने भएको छ । यस मुद्दा न्यायाधीशहरु वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलासले सो मुद्धा पुनरावलोकन गर्ने अनुमति दिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले पूर्वडीआईजी कोइरालाको मुद्दाको सजाय कटौती गर्ने निर्णय त्रुटीपूर्ण रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।

सर्वोच्च अदालत नियमावलीको नियम २७ अनुरूप पुनरावलोकन हुने या नहुने भन्ने विषयमा पहिले निर्णय हुनेछ । उक्त सुनुवाइमा फैसला दिने न्यायाधीशकै संख्याका न्यायाधीश संलग्न हुनेछन् । आज हुने सुनुवाईबाट पुनरावलोकन निवेदनले पुनरावलोकनको निस्सा पाए पछि अब यो निर्णयमा पुनरावलोकन हुने भएको हो ।

पत्नी गीताको हत्या गरेका कोइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर असार १५ मा चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजालासले कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेपछि उनी श्रावण ८ गते रिहा भएका थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार