दुईसय बढी स्थानीय सरकारले अझै ल्याएनन् बजेट

२०७७ श्रावण १२ साेमबार, काठमाडौं । चालु आर्थिक वर्षको बजेट कार्यान्वयन शुरु भएको आज १२ औं दिन बितिसक्दा पनि २ सय भन्दा बढी स्थानीय सरकारले अझै बजेट ल्याएका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको अद्यावधिक तथ्यांकअनुसार हिजोसम्म देशभरका ५ सय ५२ वटा स्थानीय तहको मात्र बजेट पेश भएको छ ।

यो तथ्यांक मन्त्रालयको पोर्टलमार्फत सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणमा आधारित भएर बनाईएको मन्त्रालयले जनाएको छ । हिजोसम्म अझै २ सय १ स्थानीय तहमा बजेट आएको छैन । मन्त्रालयको तथ्यांक अनुसार प्रदेश ५ मा रहेका स्थानीय तहमध्ये ९१ प्रतिशत स्थानीय तहले बजेट ल्याइसकेका छन् । अब ९ प्रतिशत मात्र स्थानीय तहमा बजेट आउन बाँकी छ ।

तर, प्रदेश २ मा भने आधा भन्दा बढी स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । प्रदेश २ मा कुल १३६ स्थानीयमध्ये मात्र ५८ स्थानीय सरकारको बजेट आएको छ । ७८ स्थानीय तहमा बजेट आउन सकेको छैन ।

प्रदेश एकमा कूल १३७ स्थानीय तहमध्ये १०७ ले बजेट ल्याएका छन्, वागमती प्रदेशमा ११९ मध्ये ९५ स्थानीय सरकार बजेट ल्याउन सफल भएका छन् । यस्तै, गण्डकी प्रदेशमा कूल ८५ मध्ये ६७ स्थानीय सरकारले मात्र बजेट ल्याएका छन् भने कर्णालीका ७९ मध्ये ६६ र सुदूरपश्चिम प्रदेशमा कूल ८८ मध्ये ६० स्थानीय तहले मात्र बजेट ल्याएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार