अमेरिकी कूटनीतिज्ञले छाडे चेङ्‌दु वाणिज्य दूतावास

२०७७ श्रावण १२ साेमबार, एजेन्सी । चीनको आदेशपछि अमेरिकी कूटनीतिज्ञहरूले चीनको दक्षिण-पश्चिमी सहर चेङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास छोडेका छन् ।

चीनले गत साता सोमबारसम्म चेङ्दुस्थित अमेरिकी वाणिज्य दूतावासलाई बन्द गर्न आदेश दिएको थियो । अमेरिकाले गत साता टेक्ससको ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावासलाई बन्द गर्न दिएको निर्देशनको प्रतिक्रिया स्वरुप चीनले चेङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास बन्द गर्न आदेश दिएको हो ।

सोमबार कर्मचारीहरूले ‘बक्स’ फाइल र फोहोर राखिएका झोला बोकेको देखिएको थियो भने त्यहाँस्थित अमेरिकी झण्डा झिकिएको छ । अमेरिकी विदेश मन्त्रालयमा प्रवक्ताले ‘तिब्बतलगायत पश्चिमी चीनको नागरिकहरूसँगको सम्बन्धबीच ३५ वर्ष वाणिज्य दूतावास उभिएको’ बताउँदै चिनियाँ कम्युनिस्ट पार्टीको निर्णयले अमेरिका दु:खी भएको बताएका छन् ।

वाणिज्य दूतावास भवनबाहिर स्थानीय बासिन्दाको भिड लागेको थियो । उनीहरूमध्ये धेरैले चिनियाँ राष्ट्रिय झण्डा बोकेका थिए भने कतिपयले सेल्फी लिइरहेका थिए ।

अमेरिकामा चिनियाँ कूटनीतिज्ञहरूलाई दिइएको ७२ घण्टे म्याद शुक्रबार सकिएपछि अमेरिकी अधिकारीहरूले वाणिज्य दूतावास भवनभित्र छिर्नका लागि ढोका खोल्न लगाएको जनाइएको छ ।

बेइजिङले ‘बौद्धिक सम्पत्ति चोरी गर्न’ आफ्नो वाणिज्य दूतावासको प्रयोग गरिरहेको भन्दै ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावास बन्द गराउने आदेश दिइएको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताएका थिए ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ् वेनबिनले अमेरिकी कदम ‘चीन विरोधी झुटहरूको मिश्रण’ भएको प्रतिक्रिया दिएका छन् । –बीबीसी

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार