नेकपा नेता थुमनाथ चापागाईँको निधन

२०७७ श्रावण १२ साेमबार, काठमाडौं । राजनीतिक एवम् सामाजिक व्यक्तित्व थुमनाथ चापागाइँको ६९ वर्षका उमेरमा आज बिहान निधन भएको छ ।

आफन्तका अनुसार उनको फिदिम नगरपालिका वडा नं १२ स्थित निवासमा निधन भएको हो । अर्बुद रोगबाट पीडित भई लामो समय काठमाडौँका विभिन्न अस्पतालमा उपचार गरिए पनि रोग निको नहुने भएपछि केही दिनअघि मात्रै उनलाई निजी निवास ल्याइएको थियो । उनको मङ्गलबार अन्त्येष्टि गरिने उनका भतिजा मनरथले जानकारी दिए । दिवङ्गत चापागाइँका दुई श्रीमती, सात छोरा र पाँच छोरी छन् ।

विसं २००८ जेठ १६ गते जन्मिएका चापागाईँ पञ्चायतकालमा जनपक्षीय उम्मेदवार भई एक पटक नांगीन गाउँ पञ्चायतको प्रधानपञ्चमा चुनिएका थिए । यस्तै २०५४ को स्थानीय निर्वाचनमा उनी नांगीन गाविस अध्यक्ष निर्वाचित भएका थिए ।

कम्युनिष्ट पार्टीका कुशल सङ्गठक चापागाईँको हक्की र स्पष्टवक्ता स्वभावलाई धेरैले मन पराउँथे । गत स्थानीय तह निर्वाचनमा उनी तत्कालीन नेकपा (एमाले) बाट फिदिम नगरपालिकाको प्रमुखको आकाङ्क्षी समेत थिए ।

जीवनभर सामाजिक क्षेत्रमा सक्रिय उनी तत्कालीन नेकपा (एमाले) पाँचथरको उपसचिवमा निर्वाचित भएका थिए । स्वास्थ्यमा समस्या भई पछिल्लो पटक सक्रिय राजनीतिबाट बाहिर रहेका चापागाईँ हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ प्रदेश सल्लाहकार परिषद् सदस्य रहेका थिए । उनी सामुदायिक विद्युतीकरण जिल्ला सहकारी सङ्घ पाँचथरको अध्यक्ष लगायत विभिन्न सामाजिक सङ्घसंस्थाको नेतृत्वमा समेत रहेका थिए । रासस

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार