अहिलेसम्मकै सबैभन्दा गम्भीर स्वास्थ्य सङ्कट : डब्ल्यूएचओ

२०७७ श्रावण १३ मङ्गलबार, एजेन्सी । कोभिड-१९ विश्व स्वास्थ्य सङ्गठनले घोषणा गरेकामध्ये ‘सबैभन्दा गम्भीर विश्वव्यापी स्वास्थ्य सङ्कट’ भएको उसका प्रमुखले बताएका छन् ।

डा. टेड्रोस एड्हानोम गेहब्रेयससले महामारीबारे समीक्षा गर्नका लागि डब्ल्यूएचओको आपत्‌कालीन समितिको बैठक यसै साता पुनः बोलाउने बताए । यसअघि विश्व स्वास्थ्य सङ्गठनले अन्य पाँचवटा स्वास्थ्य सङ्कटकाल घोषणा गरिसकेको छः इबोला (दुई पटक), जीका, पोलियो र स्वाइन फ्लु ।

गत ज्यानुअरी महिनामा विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा गरिएयता विश्वभरि एक करोड ६० लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् भने साढे ६ लाखभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ ।

‘ज्यानुअरीको ३० तारिखमा मैले जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय सङ्कटकालको घोषणा गर्दा चीनबाहिर सयवटा मात्रै कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो, मृत्यु भएकै थिएन,’ टेड्रोसले भने ।

‘कोभिड-१९ ले हाम्रो विश्वलाई बदलिदिएको छ । त्यसले मानिसहरूलाई, समुदायहरूलाई र देशहरूलाई एकसाथ ल्याइदिएको छ र उनीहरूलाई अलग पनि पारिदिएको छ ।’ विगत ६ हप्तामा कुल सङ्क्रमित सङ्ख्या सालाखाला दुई गुनाले बढेको उनले बताए ।

कोरोनाभाइरससँग जुझ्नका निम्ति विश्वले ठूलो प्रयत्न गरिरहे पनि ‘अझै धेरै गर्न बाँकी रहेको’ टेड्रोसले उल्लेख गरे । विश्व स्वास्थ्य सङ्गठनको आपत्‌कालीन कार्यक्रमका निर्देशक माइक रायनले ‘भविष्यमा सीमाहरू बन्द राखिराख्न देशहरूका लागि लगभग असम्भव हुने’ बताएका छन् ।

‘अर्थतन्त्रहरू खुला हुनुपर्ने हुन्छ, मानिसहरूले काम गर्नुपर्ने हुन्छ, व्यापार पुनः शुरू गर्नुपर्ने हुन्छ,’ उनले थपे । यद्यपि फेरि सङ्क्रमण फैलिएका देशहरूमा थप लकडाउन गर्न आवश्यक पर्न सक्ने विश्व स्वास्थ्य सङ्गठनका अधिकारीहरू स्वीकार्छन् ।

तर सम्भव भएसम्म छोटो समयका लागि र निश्चित भूगोलका लागि हुनुपर्ने उनीहरूको सुझाव छ । भाइरसलाई हामी जति बुझ्छौँ त्यति नै हामी त्यसलाई नियन्त्रण गर्न सक्छौँ,’ उनले थपे ।

बीबीसी

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार