सिद्धबाबा क्षेत्रमा अहिलेसम्मकै ठूलो पहिरो: यात्रा नगर्न प्रहरीको आग्रह

२०७७ श्रावण १३ मङ्गलबार, काठमाडौं । बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा अहिलेसम्मकै ठूलो पहिरो गएको छ । सिद्धबाबा मन्दिरको ड्याम नजिकै अहिलेसम्मकै ठूलो पहिरो गएपछि बाटो पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपी मदन गिरीले बताए ।

उनले भने,‘ सिद्धबाबामा ढुंगागिटीसहितको करिब ७० मिटर लामो पहिरो छ, याे निकै ठूलाे पहिराे हाे ।’ उनले बाटाे खुलाउन एउटा लोडरले काम गरिरहेको  र अर्को लोडरका लागि सडक विभागसँग कुरा भइरहेको बताए । प्रहरीका अनुसार बाटो खुल्न कम्तिमा चार घण्टा लाग्छ ।

प्रहरीले सूचना नै जारी गरेर साे बाटाेमा पैदल यात्रासमेत नगर्न र बाटो पूर्ण रुपमा खुलेपछि मात्र यात्रा गर्न अनुरोध गरेको छ । निरन्तर परेको पानी र चुरे क्षेत्र भएको कारण पाल्पाको डुम्रेदेखि चिडियाखोला सम्मका क्षेत्रमा निरन्तर पहिरोहरु झरेको छ ।

यात्रुहरुले बुटवल तानसेन यात्रा गर्दा वैकल्पिक मार्ग प्रयोग गर्न र अत्यावश्यक काम बाहेक नहिँड्न सर्वसाधारणलाई प्रहरीले आग्रह गरेको  छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार