नेपाललाई नामिबिया भ्रमण गर्न आईसीसीको प्रस्ताव

२०७७ श्रावण १३ मङ्गलबार, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीचको एकदिवसीय शृङ्खला २० सेप्टेम्बरबाट गर्ने प्रस्ताव गरेको छ । आईसीसीको प्रस्तावमा नेपाल क्रिकेट संघ (क्यान) ले सकारात्मक जवाफ पठाएको छ । तर, अनिवार्य क्वारेन्टिनको व्यवस्था र अन्तर्राष्ट्रिय उडान ढिला गरी खुल्ने कारण आईसीसीले प्रस्ताव गरेकै मितिमा प्रतियोगिता हुनसक्ने सम्भावना कम रहेको क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका छन् ।

नेपालले आगामी १ भदौबाट मात्र अन्तर्राष्ट्रिय उडान खुलाउँदैछ । त्यस्तै सामूहिक खेलका लागि प्रशिक्षण पनि १ भदौबाट मात्र शुरू हुनेछ।  सरकारले समयमै तयारीको अनुमति दिए नेपालले प्रस्तावित मितिमा भाग लिनसक्ने क्यानले जनाएको छ । क्यानले आईसीसीलाई पनि नेपाल तयार रहेको र आयोजक नामिबिया र अर्काे सहभागी देश स्कटल्याण्डसँग सल्लाह गर्न जवाफ पठाएको छ ।

उक्त खेल गत अप्रिलमै गर्ने आईसीसीको तालिका थियो। तर, कोरोनाभाइरस महामारीका कारण रोकिएको थियो। यो सहित नेपालको जूनमा हुने पपुवा न्यूगिनी र जुलाईमा हुने स्कटल्याण्ड भ्रमण पनि रोकिएको थियो । पपुवा न्यूगिनीमा यूएई र स्कटल्याण्डमा नामिबिया सहितको त्रिदिवसीय शृङ्खला हुने तालिका थियो ।

महामारीअघि नै आईसीसीले बनाएको तालिका अनुसार क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालको आगामी खेल सन् २०२१ को शुरूमा मात्र छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार